गीता छोएको कसम तोड्दै कमल थापाले छोडे राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा थापाले अत्यन्तै भारी मन बनाएर राप्रपाबाट अलग भएको बताएका छन् ।
‘अत्यन्त भारी मन र पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु’, उनले भने ।
आफ्नो कुराको सुनुवाइ नहुने भएपछि आफूले पार्टी छोड्ने निर्णय लिन बाध्य भएको उनको भनाइ छ ।
‘पार्टीभित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने मेरो उद्देश्य थियो । यसरी पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’, उनले थपे ।
पार्टी छोडे पनि थापाले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको स्पष्टसमेत पारे ।
करिब दुई वर्षअघि पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग पार्टी एकीकरण गर्दा थापाले अब राप्रपा कहिल्यै नफुटाउने भन्दै भागवत गीता छोएर कसम खाएका थिए । गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनको उद्घाटनमा पनि उनले यही कुरा दोहोर्याएका थिए ।
तर, अध्यक्षमा राजेन्द्र लिङ्देनसँग अप्रत्यासित रूपमा पराजित भएपछि थापा विचलित भएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया