कर नतिर्नेबाट काठमाडौं महानगरले असुल्यो सात करोड वक्यौता
काठमाडौं । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु सात करोड वक्यौता रकम असुल गरेको छ ।
गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् । तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन् ।
“आउने क्रम जारी छ, कोरोनाको कारण लक्ष्यअनुरुप असुल हुन भने सकेन”, कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले भने । कामपाले गत साउनको अन्तिम साता दुई चरणमा गरी ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । त्यसपछि करदाता सम्पर्कमा आउने क्रम बढेको छ ।
धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन् । तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर सङ्कलन गरिरहेको हो ।
सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ ।
डा अधिकारी भन्छन्, “सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।”
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया