NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

देउवाको आग्रह : एमसिसी संसद्मा लैजाऔं, प्रचण्ड र माधवले भने : यथास्थितिमा सकिन्न

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कारण सत्ता गठबन्धनमा स्पष्ट फाटो देखा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी जसरी भए पनि पारित गर्ने पक्षमा छन् । यता, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भने एमसिसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा देखिएका छन् ।

यसैबीच, प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौता अनुमोदनबारे छलफल गरेका छन् ।

छलफलका लागि प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए । तर, उनीहरूले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई निराश बनाएको स्रोतले जनाएको छ । भेटमा प्रधानमन्त्री देउवाले एमसिसीलाई तत्काल संसद्मा पेस गरेर पारितका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

यद्यपि, प्रचण्ड र नेपालले भने एमसिसीबारे जनस्तरमा प्रश्न उठेको, यसलाई लिएर आन्दोलनसमेत भइरहेकाले यतातिर ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यथास्थितिमै एमसिसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएको स्रोतले जनाएको छ ।

यसै फेब्रअरी २८ भित्र एमसिसी पारित गर्न अमेरिकाले अल्टिमेटम दिएको छ । प्रधानमन्त्री देउवाले त्यसप्रति ध्यानाकर्षण गराएका थिए ।

हालै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । यसले प्रचण्डको द्वैदचरित्र उजागर गरेको विश्लेषण गरिएको छ ।

किनकि, गत कात्तिकमा बेलायत भ्रमणबाट फर्किने क्रममा प्रधानमन्त्री दउवाले आफू र प्रचण्डले अमेरिकालाई पत्र पठाएको खुलासा गरेका थिए । तर, त्यसको प्रचण्डले खण्डन गर्दै आएका थिए ।