भारी हिमपातले जाजरकाेटमा सुन्तलाका बिरुवा नष्ट
जाजरकोट । लगातार दुई दिनसम्म परेको भारी हिमपातले जाजरकोटमा कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो ।
दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म उद्योगका प्रोपराइटर जानुका मल्लले जानकारी दिइन् । दुई प्लाष्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएको प्रोपराइटर मल्लको भनाइ छ ।
‘केही दिन अगाडि दैनिक एक हजार २०० रूपैयाँ ज्याला दिएर सुन्तलाका बिरुवामा कलमी गरेका थियौँ, दुई दिनसम्मको हिमपातले प्लाष्टिकका टनेल थचारिएर सबै बिरुवा नष्ट भएका छन्,’ मल्लले भने, ‘हिमपातले हाम्रो जेवी कृषि फार्म उद्योगमा रहेका ६० देखि ७० हजारसम्म बिरुवा नष्ट गरेको छ, हरिबहादुर थापा प्रोपराइटर रहेको बाटापाखा हार्बिष्ट कृषि फार्मका ५० देखि ६० हजार बिरुवा नष्ट भएका छन्, वीरबहादुर खड्का प्रोपराइटर रहेको प्रगतिशील नर्सरी उद्योगका ४० देखि ५० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएका छन् ।’
मल्लले दिएको जानकारीअनुसार शिवबहादुर मल्ल प्रोपराइटर रहेको प्रविण हिउँदे तथा वर्षे फलफूल नर्सरीमा भने हिउँले त्यस्तै क्षति गरेको छ । शक्तिबहादुर वली प्रोपराइटर रहेको कुशे अग्र्यानिक कृषि फार्ममा रहेका सुन्तलाका बिरुवा हिमपातले के–कति क्षति गयो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुनसकेको छैन ।
जिल्ला कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजात फलफूल जोनबाट विभिन्न अनुदान प्राप्त गरेका उक्त नर्सरीका बिरुवा हिमपातले नष्ट भएपछि नर्सरी सञ्चालक तथा प्रोपराइटर चिन्तित भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया