NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रचण्डप्रति ओलीको कटाक्ष : मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मत्रपत्र च्यातेर वा बत्ती निभाएर चुनाव जित्ने सपना नदेख्न गठबन्धन सरकारलाई चेतावनी दिएका छन् ।

चुनावको तयारीका लागि सातै प्रदेशमा गर्न लागिएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलमाध्यमबाट उद्घाटन गर्दै उनले चुनाव हुन नदिने प्रतिकृयावादी शक्तिहरू गठबन्धनभित्रै रहेको आरोप लगाए ।

निर्वाचनको माध्यमबाट प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न चुनाव महत्वपूर्ण हुने उनले जिकिर गरे । अबको निर्वाचन मत्रपत्र च्यातेर, बत्ती निभाएर षड्यन्त्रमार्फत चुनाव जित्ने सपना नदेखे हुन्छ’, उनले भने, ‘०७४ मा गठबन्धनविरुद्ध एक्लै लडेर ४२.४८ प्रतिशत जित हासिल गरेका थियौं । अबको चुनावमा गठबन्धनकारी, प्रतिक्रियावादीलाई परास्त गरी बहुमत ल्याउँछौं ।’

०७४ मा भएको भरतपुर महानगरपालिकाको चुनावमा प्रचण्डपुत्री रेणु दाहालले पतपत्र च्यातेर र बत्ती निभाएको चुनाव जितेको आरोप लाग्दै आएको छ । त्यसमा प्रचण्डकै भूमिका थियो भन्ने गरिन्छ । ओलीको कटाक्ष यतैतिर लक्षित थियो ।

साथै, उनले फागुनमा गर्नुपर्ने निर्वाचन नगरी चुनाव नगर्ने सरकारको षड्यन्त्रलाई एमालेका दवावका कारण बैशाखमा मिति तोक्न सरकार बाध्य भएको दावी गरेका छन् ।

अझै पनि आलतमा निर्वाचन नगराउने रिट लिएर जाने, विभिन्न बाहानाबाजी गर्ने, बिथोल्ने, असंवैधानिक बाटोमा देशलाई लैजान षड्यन्त्र हुन सक्छन् भन्दै उनले चनाखो सबैलाई आग्रह गरेका छन् ।

जनादेश र परमादेशकाबीच, सार्वभौम जनताले बनाएको सरकार ढालेर प्रतिकृयावादी शक्तिको मतियार बनेको सरकारलाई परास्त गर्ने स्थानीय चुनाव प्रस्थान विन्दु हुनेछ’, ओलीले भने, ‘तोकिएकै मितिमा निश्पक्ष ढंगले चुनाव गराउने, देशभक्तिको पक्षमा परिणाम ल्याउने, संविधान कार्यान्वायन तथा लोकतन्त्रको रक्षाका लागि सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन हुनेछ ।’

एमालेले स्थानीय चुनावलाई ध्यानमा राखी फागुन १ गतेदेखि सातै प्रदेशमा कार्यकर्तालाई प्रशिक्षण तथा अभिमुखिकरण गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।