NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पर्यटनमन्त्री आलेले अश्लील गाली गरेको अडियो सार्वजनिक

आलेको सचिवालय भन्छ– बदनाम गराउने षड्यन्त्र

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लील गाली गलौज गरेको अडियो सार्वजनिक भएको छ । अडियोमा मन्त्री आलेले अश्लील गाली गर्दै एक युवकलाई ठेगान लगाउने धम्की दिएका छन् ।

अडियो कहिलेको हो भन्ने खुलेको छैन । अडियोमा मन्त्रीले गाली गरेका युवक जगत ओली भएको खुलेको छ । ओली र आले पहिले एउटै दल नेकपा एमालेमा थिए । एमालेमा छँदा ओलीले आलेको बचाउ गर्ने गरेका थिए । पार्टी अलग भएपछि भने उनीहरूबीच दरार आयो । तर मन्त्री आले उनलाई आफूले राम्रोसँग नचिन्ने बताउँछन् ।

सोमबार सार्वजनिक अडियो सुन्दा युवकले आलेका बारेमा केही लेखिदिएपछि उनी आक्रोसित भएको लख काट्न सकिन्छ । युवकले उनका बारे मिडिया या सामाजिक सञ्जाल केमा लेखे भन्ने पनि अडियोबाट प्रष्ट हुँदैन ।

सार्वजनिक अडियोको सुरुवातमै मन्त्री आले ती युवकप्रति आक्रोसित देखिन्छन् । आफ्नोबारे गलत कुरा लेखिदिएको भन्दै अश्लील गालीगलौजमा उत्रिएका आलेले युवकलाई ठेगान लगाउनेसम्मको चेतावनी दिएका छन् । त्यस क्रममा आलेले युवकलाई ‘कहाँ छस्’ भनेर सोध्छन् । युवकले आफू भारतको मुम्बइमा भएको भन्दै पूरा ठेगाना दिन्छन् । यो क्रममा युवकले मन्त्री आलेलाई तस्करको आरोप लगाएका  छन् । युवकले यस्तो बताएपछि मन्त्री आले थप आक्रोसित हुँदै अश्लील गाली गलौजमा उत्रन्छन् ।

मन्त्रीले अमाचकारी गाली गरेको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

मन्त्री आलेको सचिवालयले पनि त्यो अडियो मन्त्री आलेकै भएको स्वीकार गरेको छ । सचिवालयका अनुसार, त्यो अडियो आलेकै भए पनि सार्वजनिक पद धारण गर्नु पूर्व  एक वर्षअघिको हो । तर एउटै पार्टीमा छँदा ओली आलेको समर्थक रहेकाले सचिवालयको दाबी पत्याउन सकिँदैन ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृत रूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

‘सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृत रूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको छ,’ उनले भने ।

मन्त्री आलेले पछिल्ला दिनमा जनप्रिय कार्य गरेपछि केही व्यक्ति अत्तालिएको र त्यसको रिस पोखेको उनको आरोप छ ।

रेग्मीका अनुसार, सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तर रूपमा आलेमाथि ब्ल्याकमेल भइरहेको छ । ‘उहाँलाई उत्तेजित पार्दै बोल्न लगाउने र सोही विषयलाई सामाजिक सञ्जालमा राखेर बदनाम गराउने काम भइरहेको छ,’ सचिवालयले घटनाप्रति खेद प्रकट गर्दै भनेको छ ।