एमसिसीबारे निर्णायक छलफलमा को–को नेता सहभागी छन् ?

काठमाडौं । एमसिसीबारे निर्णायक छलफल गर्नका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । एमसिसीका विषयमा सत्तारुढ गठबन्धनमा नै विवाद आएपछि निर्णायक छलफलका लागि प्रधानमन्त्रीसहित कांग्रेसबाट शीर्षस्थ नेतृत्व, माओवादी, नेकपा एस, जसपाका शीर्ष नेता सहभागी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला छन् । कांग्रेसका नेताहरू एमसिसी पास गर्नैपर्ने पक्षमा छन् ।
माओवादीबाट प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् । माओवादीमा नेता श्रेष्ठ एमसिसी पारित गर्नै नहुने अडान लिंदै आएका नेता हुन् ।
नेकपा एसबाट अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल सहभागी छन् । यस अघि एमसिसीप्रति नरम रहे पनि पछिल्लो समय जबर्जस्ती गरिए एमसिसीको विपक्षमा भोट हाल्ने चेतावनी नेकपा एसले दिएको छ ।
जसपाबाट बैठकमा डा.बाबुराम भट्टराई सहभागी छन् ।
सत्ता सहयोगी दलबाट समर्थन नभए पनि भोलि नै संसदमा एमसिसीलाई टेबल गराउने तयारी प्रधानमन्त्री देउवाको छ । कांग्रेसले यस अघि एमसिसी पास गर्ने निर्णय सर्वसम्मत रुपमा गरिसकेको छ ।
प्रतिक्रिया