NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ओलीले देउवासँग भने-गठबन्धन छोड्नुस् एमसिसी पास गराउँछु

काठमाडौं । माओवादी र नेकपा एसले एमसिसी पास गर्नलाई आनाकानी गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको विकल्प खोजेका छन् ।

केही दिनको निरन्तर प्रयासमा पनि माओवादी र नेकपा एस एमसिसीमा सकारात्मक नभएपछि प्रधानमन्त्री देउवाले बहुमत जुटाउनका लागि एमालेसँग संवाद अघि बढाएका हुन् ।

पहिलो चरणमा ज्ञानेन्द्रबहादुर कार्की र डा. मीनेन्द्र रिजाललाई एमाले अध्यक्ष केपी ओलीसँग संवाद गर्न देउवाले पठाएका थिए । तर बिहीबार रातिसम्म बसेको सत्ता गठबन्धनको बैठकमा कुरा नमिलेपछि देउवा ओलीलाई आफैं भेट्न उनको बालकोटस्थित निवासमा पुगेका थिए ।
सो भेटमा देउवाले एमसिसीलाई पास गरेर जाने भन्दै ओलीलाई सहयोगको लागि आग्रह गरेका थिए । तर ओलीले पहिले सत्ता गठबन्धनको आधिकारिक निर्णय गराएर आउनुपर्ने र सत्ता गठबन्धन छोडेको घोषणा हुनुपर्ने शर्त राखेका थिए ।

ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र सभामुखको राजीनामाको विषयलाई समेत प्याकेजमा टुंग्याउन प्रधानमन्त्रीसँग आग्रह गरेको कांग्रेसका नेता बताउँछन् ।

‘राष्ट्रिय महत्वका विषयलाई थाती राखेर हामी अब सत्ता गठबन्धन मात्रै जोगाउने पक्षमा छैनौं’ कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘कुनै निकास नदिने सत्ता गठबन्धनलाई अब कांग्रेसले कुरिरहँदैन एउटा निकासमा जानुपर्छ भनेर प्रधानमन्त्री आफैंले वार्ताको अग्रसरता लिनुभएको हो ।’
गएराति भएको भेटमा ओलीले देउवासँग गठबन्धन तोडिए आफूले एमसिसीलाई पास गरेर जान सहमति दिने बताएका थिए ।
यसले सत्ता गठबन्धनलाई झन् दबाब बढाएको छ ।

प्रधानमन्त्रीले नै प्रतिपक्षी दलका नेतासँग सहयोगको अपिल गरेपछि सत्ता गठबन्धनमा आवद्ध माओवादी, नेकपा एस र जसपा झन् सकसका परेका छन् ।

शुक्रबार बिहानै प्रचण्डको खुमलटारस्थित निवासमा माओवादी, नेकपा एस र जसपाका नेता छलफलमा जुटेका थिए । उनीहरूले सत्ता गठबन्धन जोगाउन अन्तिम प्रयत्न गर्ने तयारी गरेको कांग्रेस नेता मीन विश्वकर्मा बताउँछन् ।

‘१० बजेपछि सत्ता गठबन्धनको बैठकमा माओवादी, एस र जसपाले मध्यमार्गी प्रस्ताव ल्याउने तयारी गरेको बुझेका छौं’ विश्वकर्माले भने, ‘अब पनि एउटा विषयको टुंगो लागेन भने भ्याए आजै नभए आइतबार एमसिसी संसदमा टेबल हुन्छ ।’
१० बजेपछि सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक रामशरण बजगाईंले एमसिसी अगाडि बढेपछि एमालेले मत विभाजनमा एउटा निर्णय दिने जानकारी दिए ।

‘राष्ट्रको हित अनकूल मुलुकलाई संवैधानिक ट्रयाकमा फर्काउने पक्षमा एमाले छ । पहिलेको सरकार हुँदासम्म सबै काम अघि बढिरहेका थिए र जुन मितिमा सरकार ढल्यो त्यो दिनदेखि तनावको स्थिति देखिंदै आएको छ’ उनले भने, ‘एमसिसी अगाडि बढेपछि एउटा निर्णय दिन्छौं । मतविभाजनसम्म ढुलमूल हुँदैन । भोट दिने ठाउँमा पुगेपछि बल्ल निर्णय हुन्छ । यता गठबन्धनमा निर्णय नहुने अनि प्रक्रियामा पनि नजाने अनि तिमीहरूको भोटिङ कता हो भनेर सोधेर हुने कुरा हो र ?’

ताजा अपडेट

नेपालवाच विशेष