NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते
विश्वकप ग्लोबल छनोट

नेपालको लगातार दोस्रो जित, फिलिपिन्सलाई भारी अन्तरले हरायो

काठमाडौं । आइसिसी पुरुष टि–ट्वान्टी क्रिकेट विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको भारीअन्तरले पराजित गरेको हो । सोही मैदानमा हिजो भएको ओमान विरुद्वको पहिलो खेलमा नेपाल ३९ रनले विजयी भएको थियो । जितसँगै नेपाल चार अङ्क जोड्दै सेमिफाइनल नजिक पुगेको छ ।

आजको खेलमा २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटियो । फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मिथले २०, कप्तान जोनाथन हिलले ११ तथा कपिल कुमारले ४ रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा र जितेन्द्र मुखियाले समान एक–एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन जोडेको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रनको योगदान दिए । उनले ६१ बल खेल्दा १३ चौका र एक छक्काको मद्दतमा १०४ रन जोडेका हुन । कुशलको टि–ट्वान्टी अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो ।

यसअघि उनले ७७ रन बनाएका थिए । त्यसैगरी कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन तथा पारस खड्काले ५२ बलमा १०६ रन बनाएका थिए ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । लोकेश बम ६ रनमा अविजित रहँदा कुशल मल्ल १२ रनमा आउट भए । आशिफ शेख शुन्य रनमै आउट भएका थिए ।

फिलिपिन्सका लागि गुर्धुपिन्दर चौहान, मिग्गी पोडोस्की र ड्यानियल स्मिथले एक–एक विकेट लिए । नेपालले अब समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ ।