NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
टिप्पणी

एमसिसी संसद्मा पेश भएपछि देउवा किन उत्साहित ?

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को होहल्लाबीच प्रतिनिधि सभामा विवादित अमेरिकी परियोजना एमसिसी पेश गरेको छ ।

यससँगै प्रधानमन्त्री शेरबहादुर देउवा उत्साहित देखिएका छन् । संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसिसी पास हुने बताएका हुन् ।

सञ्चारकर्मीले ‘एमसिसी के हुन्छ ?’ भन्ने जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले ‘अब पास हुन्छ’ भने ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । तर, सत्तारुढ दलहरूले नै संशोधन नगरी पास गर्न नसकिने अडान राख्दै आएका छन् ।

एमसिसीलाई लिएर पछिल्लो समयमा सत्ता गठबनधनबीच खटपट देखिएको छ । यस्तोमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीसँग अघि बढाएका छन् ।

एमसिसी पारित गर्न साधारण बहुमत भए पुग्छ । एमाले संसद्मा सबैभन्दा ठूलो दल हो । उसँग ९८ सांसद छन् । नेपाली कांग्रेससँग ६० सांसद छन् । यी दुई मिल्दा १५८ पुग्छ । जबकि, एमसिसी पारित गराउन जम्मा १३६ सांसद भए पुग्नेछ ।

देउवाको उत्साह हेर्दा ओलीले उनलाई ग्रिन सिग्नल दिएको अनुमान गर्न सकिन्छ । बारम्बारको भेटवार्ताले पनि यही देखाएको छ ।

त्यो त यसअघि ओली प्रधानमन्त्री भएको बेला एमसिसी संसद्मा पेश भएको थियो । तर, माओवादी केन्द्रको तर्फबाट सभामुख भएका कृष्णबहादुर महराले त्यसलाई छलफलको विषय नै बनाएका थिएनन् ।

सत्ता गठबन्धनमा भुइँचालो आएको अहिलेको अवस्थामा देउवासँग सत्ता स्वार्थ मिलेमा ओली एमसिसी पारित गर्न तयार हुने कांग्रेसवित्तमा चर्चा छ । यसैकारण देउवा उत्साहित भएको हुन सक्छन् ।