NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

व्यवसायमा सफल, प्रेममा असफल अर्बपतिहरू

काठमाडौं । विश्वका केही धनीहरू यस्ता छन्, जो गणितमा त सफल भए, तर साहित्यमा असफल भए । यसो भनौं, जसले दिमागको खेलमा त महारथ हासिल गरे, तर ‘दिल’को मामिलामा कच्चा साबित भए । पैसा कमाउन सफल, प्रेममा असफल ।

व्यावसायिक सफलताको शिखर चुमेका विश्वका केही धनाढ्यहरूको प्रेम र दाम्पत्य जीवन भने निराशाजनक रह्यो । यसमा विश्वका ठूला अर्बपति बिल गेट्स, जेफ बेजोसदेखि एलन मस्कसम्म पर्छन् ।

एलन मस्कको पाँचौं प्रेम

आधा दर्जन सन्तानका बाबु अनि तीन पत्नीका पति भइसकेका विश्वकै धनी व्यक्ति एलन मस्क अचेल आफ्नी नयाँ प्रेमिकासँगको अफेयरका कारण पुनः चर्चामा छन् ।

२ सय २३ अर्ब डलरका मालिक मस्क र अस्टे«लियन अभिनेत्री नताशा ब्यासेटको डेटिङको सिलसिला सुरु भएपछि मिडियाले नयाँ मसला पाएको छ । तीन पटक विवाह गरिसकेका मस्कका हाल ६ सन्तान छन् ।

व्यवसायमा सफल अर्बपतिहरू स्त्रीको मनको गहिराइसम्म पुग्नचाहिँ किन सकेनन् ? यो प्रश्नको उत्तर वैज्ञानिकसँग होइन, आध्यात्मिक गुरुसँगै हुनसक्छ । किनकि, माया गर्ने मुटुले हो, दिमागले होइन 

हालै मात्र मस्क अभिनेतृ नताशा ब्यासेटका साथ लस एन्जलसमा आफ्नो गल्फस्ट्रिम निजी जेटमा यात्रा गरिरहेका थिए । यो दृष्य सार्वजनिक हुनासाथ मस्कले नयाँ गर्लफ्रेन्ड बनाएको चर्चा व्यापक भयो । ‘डेली मेल’का अनुसार २७ वर्षीय नताशा ५० वर्षीय एलन मस्कको धन सम्पत्तिको साटो उनको अदभूत प्रतिभाबाट प्रभावित भएकी हुन् ।

रिपोर्टमा के पनि उल्लेख छ भने अभिनेतृ नताशा केही समयदेखि मस्कलाई पछयाइरहेकी थिइन् । सुरुमा दुवै असल मित्र बने । आफ्नी पूर्वपत्नी गायिका ग्रिम्ससँग अलग हुनासाथ मस्क हुर्रिएर नताशासँग ‘रिलेशनशिप’मा आइहाले ।

नताशा निकै सुन्दर छिन् र कुनै पनि पुरुषले उनलाई सहजै मन पराउनु स्वभाविकै हो । तर नताशाले भने मस्कलाई मन पराउनुको कारण स्मार्ट मस्कसँग बिताउँदाको समय निकै मनमोहक हुनु हो ।

‘हलिउड डटकम’को अर्को रिपोर्ट अनुसार, मस्क र नताशा बितेका केही महिनादेखि डेटिङमा थिए । मस्कले आफ्नी तेस्री पत्नी गायिका ग्रिम्ससँग सन् २०२१ सेप्टेम्बरमा सम्बन्धविच्छेद गरिसकेका छन् ।

‘स्पुतनिक’को रिपोर्ट अनुसार, नताशाको अभिनय करिअरका लागि मस्कले भरपूर सहयोग गरिरहेका छन् । नताशा निर्माणाधीन बायोपिक चलचित्र ‘एल्विस’मा अमेरिकी गायकको पहिलो गर्लफ्रेण्डको भूमिका निर्वाह गर्दैछिन् । उनी अहिले आफ्नो करिअरमै बढी ध्यान केन्द्रित गरिरहेकी छन् भने मंगल ग्रहमा मान्छे पठाउने सपना साकार पार्ने मिसनमा जुटेका मस्कलाई पनि आफ्नो र नताशाको प्रेम सम्बन्ध सार्वजनिक भएकोमा कुनै आपत्ति छैन । नताशा आफ्नै बलबुतामा चर्चित हुन खोजिरहेकी छन्, उनलाई मस्कको गर्लफ्रेण्ड हुनुको क्रेज भजाउनु छैन । र, यसका लागि मस्कको उनलाई साथ छ ।
०००
प्रतिभाशाली, सफल अनि धनधान्यले सम्पन्न विश्वकै चर्चित व्यक्ति एलन मस्कको अहिलेसम्म पाँच स्त्रीहरूसँग सम्बन्ध रह्यो । तीन पटक त विवाह नै गरे ।

‘म बाल्यकालदेखि नै एक्लोपनसँग लडिरहेँ । त्यसैले मैले सदा आफूले आफैंसँग भने कि मलाई एक्लै बाँच्नु छैन,’ मस्कले एक अन्तर्वार्तामा भनेका छन् ।

सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका एलन मस्कले सानैदेखि एक्लोपन महसुस गर्नुको कारण के हो भने उनी कलिलो उमेरमै आमाको स्नेहबाट अलग भए । सन् १९८० मा एलन मस्क ९ वर्षका मात्र थिए, उनका पाइलट र इलेक्ट्रिकल इञ्जिनियर पिता एरोल मस्क र माता मय मस्कबीच सम्बन्धविच्छेद भएको थियो । एलन मस्क आफ्ना पितासँगै रहे ।

सानैमा आमाको साथ र स्नेह टुटेकाले पनि उनी स्त्रीको संवेदनात्मक प्रेमबाट बञ्चित रहे । यही रिक्तता पूरा गर्न तन्नेरी भएपछि उनी स्त्रीप्रति सदा आकर्षित हुने गर्छन्, जसमा वासना पूर्तिसहित ‘संवेदनात्मक सहयोग’को अपेक्षा हुन्छ ।

सन् २००० मा मस्को पहिलो विवाह जस्टिन विल्सनसँग भएको थियो । दुवैको भेट ओन्टारियोको क्विन्स युनिभर्सिटीमा भएको थियो । सात वर्षसम्म प्रेम सम्बन्धमा रहेपछि दुवैले विवाह गरेका थिए । ओन्टारियोको क्विन्स युनिभर्सिटीबाट स्नातक गरेपछि मस्क आफ्नो वैज्ञानिक र व्यावसायिक क्षेत्रमा काम गर्न थाले भने जस्टिन आफ्नो उपन्यास लेखनमा भिडिन् । त्योबेला जस्टिनलाई आफ्नो क्रेडिट कार्ड दिँदै मस्कले भनेका थिए, ‘जति किताब किन्नु छ किन्नु ।’

विवाहपछि मस्क र जस्टिन लस एन्जलस आए, जहाँ समय क्रममा उनीहरू पाँच सन्तानका माता पिता बने । मस्कले एक अन्तर्वार्तामा भनेका छन्, ‘मेरा बच्चाहरू मेरो जीवनका प्रेम हुन् ।’

विडम्बना, ८ वर्षपछि मस्क र जस्टिनको सम्बन्धमा कटुता आयो । सन् २००८ मा यो जोडीको सम्बन्धविच्छेद भयो । तैपनि, जस्टिनचाहिँ अहिले पनि एलनकै थर (मस्क) प्रयोग गर्छिन् ।

जस्टिनसँग सम्बन्धविच्छेदको केही साताभित्रै कुनै मदिरा बारमा एलन मस्कको भेट अमेरिकन अभिनेतृ तालुलाह रिलेसँग भयो । सहजै उनीहरू ‘रिलेशनशिप’मा आए । रोचक त के भने, मस्ककी पूर्वपत्नी जस्टिन र तालुलाह असल मित्र थिए ।

जे होस्, सन् २०१० मा मक्स र तालुलाहको विवाह भयो । तर, यो दोस्रो विवाह दुई वर्ष पनि टिकेन । सन् २०१२ मा उनीहरूको सम्बन्धविच्छेद भयो ।

‘तालुलाहसँगको मेरो चार वर्ष पुरानो सम्बन्ध निकै सुखद् रह्यो । म सदा उनलाई प्रेम गरिरहनेछु,’ मस्कले मिडियामा भने ।

चलचित्रमा ‘कथामा झैं मस्क र अभिनेतृ तालुलाहको सम्बन्धको कथामा पनि ‘टिवस्ट’ आयो । सम्बन्धविच्छेदको एक वर्षपछि सन् २०१३ मा उनीहरूबीच पुनः विवाह भयो । दोस्रो विवाहमार्फत मस्कले यो सम्बन्धको निरन्तरताको दोस्रो मौका दिएका थिए । तर तीन वर्षपछि अर्थात् सन् २०१६ मा पुनः तालुलाहसँग उनको सम्बन्धविच्छेद भयो ।

दुई जना प्रेमिकासँगको दाम्पत्यमा दरार आएपछि एक्लो महसुस गरिरहेका मस्कले हलिउड अभिनेत्री अन्बर हर्डसँग डेट गर्न थाले । दुवैको सम्बन्ध करिब दुई वर्षसम्म चल्यो । दुवैको व्यस्त जीवनका कारण यो सम्बन्ध टिकाउ हुन सकेन । त्यसपछि पनि उनको कैयौं स्त्रीसँग प्रेम भयो, तर उनले विवाह गरेनन् ।

केही समयपछि एलन मस्कलाई चर्चित पप गायिका ग्रिम्ससँग रेट कार्पेटमा देखियो । उनीहरूबीचको अफेयरको चर्चा सुरु भयो । उनीहरूको पहिलो भेट सन् २०१८ मा गाला इभेन्टमा भएको थियो ।

केही समय डेटमा रही विवाह बन्धनमा बाँधिएका मस्क र ग्रिम्सले सन् २०२० मा एक छोरालाई जन्म दिए । तर त्यसअघि नै उनीहरूबीच खटपट सुरु भइसकेको थियो ।

‘हामी लामो समयदेखि एक–अर्काबाट अलग रहँदै आएका छौं, तर हामी नियमित रूपमा भेट्छौं र एक–अर्कालाई प्रेम गर्छौं,’ सम्बन्धविच्छेदको चर्चापछि मस्कले मिडियामा भनेका थिए ।

मक्स टेक्सासमा बस्छन्, जहाँ उनको स्पेशएक्स र टेस्लाजस्ता कम्पनी छन् र उनलाई बारम्बार विदेश गइरहनुपर्छ । उनकी पत्नी गायिका ग्रिम्स भने कामको सिलसिलामा लस एन्जलसमा बस्दै आएकी छन् । यही कारण उनीहरूबीच ‘ब्रेक अप’ भइसकेको छ ।

अतः एलन मस्कको चक्कर अचेल अस्ट्रेलियन अभिनेतृ नताशासँग सुरु भएको हो ।

दिमागमा सफल, दिलमा असफल

विश्वमा एलन मस्कजस्ता अन्य अर्बपति पनि छन्, जसले आफ्नो दिमागको बलले व्यवसायमा सफलता, ख्याति र समृद्धि त हासिल गरे, तर मुटु धड्किने मायामा भने सफल हुन सकेनन् ।

माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स र मिलिन्डा गेट्सको पनि सम्बन्धविच्छेद भइसकेको छ । २७ वर्षसम्म सँगै रहेको यो दम्पतीबीच १३० अर्ब डलरको सम्पत्तिको भागबण्डाको प्रक्रिया पनि सुरु भइसकेको छ ।

बिल गेट्सलाई उनका कैयौं गर्लफ्रेण्डहरूले छाडे । हुन पनि, बिल गेट्स जब पहिलो पटक कुनै युवतीसँग डेटमा गएका थिए, त्यो बेला उनले डिनर टेबलमा ती युवतिसँग सोधेका थिए, ‘कक्षा दशमा गणित विषयमा तिम्रो कति नम्बर आएको थियो ?’

युवती हैरान भइन् । डेटिङमा पनि यस्तो नीरश प्रश्न ? बिलका साथीहरूले उनलाई सम्झाए, ‘केटीहरू प्रायः गणितमा कमजोर हुन्छन् । उनीहरूलाई यस्तो प्रश्न सोध्ने होइन, डेटिङमा त रोमान्सका कुरा गर्नुपर्छ ।’

अब अर्की युवतीसँग बिल गेट्सको डेटिङ तय हुन्छ । बिलले सुरुमै ती युवतीसँग भन्छन्, ‘म तिमीलाई गणितको प्रश्न सोध्दिनँ । बरु, गणितका दश वटा प्रश्नहरू लेखेर ल्याएको छु, हामी दुवै मिलेर यसको हल गरौं, जसले पहिला हल गर्छ, उसको जित हुन्छ ।’

युवतीको रोमान्टिक मुड बिग्रिन्छ, उनलाई झोक चल्छ । माया प्रेमका कुरा गर्न छाडेर गणितका प्रश्नहरू हल गर्ने प्रतिष्पर्धा ? त्यो पनि गर्लफ्रेण्डसँग । साथीहरू उनलाई फेरि सम्झाउँछन्, ‘कम्पिटिसन होइन, डेटिङमा त कोल्याब्रेसन पो गर्नुपर्छ त ।’

तेस्रो पटक अर्की युवतिसँग बिलको डेटिङ तय हुन्छ । क्लबमा भेटिएकी ती युवतिसँग बिल भन्छन्, ‘म तिमीसँग गणितको प्रश्न सोध्दिनँ, गणितका प्रश्नहरू हल गर्ने प्रतिष्पर्धा पनि गर्दिनँ । तिमीले परीक्षामा कुन–कुन प्रश्नको गलत जवाफ दिएकी थियौ भन, म आफैं हल गरेर तिमीलाई सहयोग गर्छु, कोल्याब्रेसन गर्छु ।’

बिलको यस्तो नीरश कुरा सुनेर तेस्री युवती पनि बिच्किएर टाप कस्छिन् । बिलले आफ्ना साथीहरूलाई भन्छन्, ‘भो, मलाई केटीहरूसँग डेटिङको चक्करमा पर्नु छैन, म आफ्नो करिअरमै केन्द्रित हुन्छु ।’

लामो समयसम्म बिलको कुनै युवतीसँग कुनै चक्कर चलेन । तर, आफ्नै कार्यालयमा काम गर्ने मिलिण्डासँग चाहिँ उनको प्रेम र विवाह भयो । सायद प्रेममा भन्दा पैसा र प्रख्यातिको नशाकै कारण हुनसक्छ, बिल गेट्सको सम्बन्ध मिलिण्डासँग पनि टुट्न पुग्यो । उनी दिमाग अर्थात् गणितमा त माहिर देखिए, तर दिलमा कमजोर । पैसा कमाउन त सफल भए, तर प्रेमको मामिलामा असफल ।

उता, अमेजनका संस्थापक एवं अर्बपति व्यवसायी जेफ बेजोस पनि सन् २०१९ मा २५ वर्ष पुरानो सम्बन्ध तोड्दै पत्नी म्यांकेजी बेजोसबाट अलग भए । यो दम्पतीको सम्बन्धमा खटपट त्यसबेला उत्कर्षमा पुग्यो, जब कुनै एक सञ्चारकर्मीसँग बेजोसको घनिष्ठता बढिरहेका चर्चाहरू छताछुल्ल भए ।

आखिर, बेजोसलाई पत्नीसँगको सम्बन्धविच्छेद निकै महँगो साबित भयो । किनकि, उनले अमेरिकी कानून अनुसार बेजोसको कुल १३७ अर्ब डलरको सम्पत्तिबाट ठीक आधा अर्थात् ६८ दशमलव ५ अर्ब डलर म्यांकेजीले पाइन् । सम्बन्धविच्छेदपछि म्यांकेजी विश्वकै तेस्री धनी महिला बनेकी थिइन् ।

गुगलका सह–संस्थापक सर्गेइ ब्रिन र २३ एण्डमीकी संस्थापक एन वोजिस्कीले सन् २०१५ मा आफ्नो ८ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडिदिए । गुगलकै एक कर्मचारी अमाण्डा रोजेनबर्गसँग सर्गेइको अफेयरको चर्चा उफानमा आएपछि वोजिस्कीसँग उनको मनमुटाव सुरु भएको थियो ।

यसैगरी, फर्मूला–१ का पूर्व प्रमुख बर्नी एक्लेस्टोनले सन् २००९ मा क्रोएशियाकी मोडल स्लाभिका राडिचसँग सम्बन्धविच्छेद गरे । उनीहरूबीचको दाम्पत्य जीवन २४ वर्षसम्म चलेको थियो । स्लाभिकालाई मनग्य धन दिएर बर्नीले यो सम्बन्धविच्छेद गर्नु परेको थियो ।

एकसेएक आविष्कार र प्राविधिक चमत्कार गरेर विश्व हल्लाएका यी धनाढ््यहरूले आखिर किन कुनै स्त्रीको मन जित्न सकेनन् ? अन्तरिक्ष मिसनमा हालसम्म सफलता पाएका एलन मस्क आखिर ‘माया मोह मिसन’मा चाहिँ किन असफल भइरहेका छन् ? ‘माइक्रोसफ्ट’जस्ता सुक्ष्म प्रविधिमा अब्बल बिट्सले पनि किन हृदयको सुक्ष्म गहिराई नाप्न सकेनन् ? अनि विमानबाटै अन्तरिक्ष पुगेर फर्केका जेफ बेजोस पनि स्त्रीको मनको गहिराइसम्म पुग्नचाहिँ किन सकेनन् ?

यो प्रश्नको उत्तरचाहिँ कुनै वैज्ञानिकसँग होइन, आध्यात्मिक गुरुसँगै हुनसक्छ । किनकि, माया गर्ने मुटुले हो, दिमागले हैन । दिमागले धनी बनाउन सक्छ, तर प्रेमी बन्न दिमाग होइन, दिल चाहिन्छ । निधारमा भाग्य जेसुकै लेखियोस्, तर माया पाउन मुटु चाहिन्छ ।

गायक प्रमोद खरेलले गाएकै छन् –

‘माया गर्ने मुटुले हो, निधारले हैन’