NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सत्ता गठबन्धन भत्काएर भए पनि एमसिसी पास गर्ने धुनमा प्रधानमन्त्री देउवा

काठमाडौं । अमेरिकी आर्थिक सहयोग परियोजना एमसिसीलाई कुनै पनि हालतमा पास गर्ने गरी प्रधानमन्त्री देउवाले तयारी अघि बढाएका छन् । संसद्को साधारण बहुमतबाट पारित भए पुग्ने एमसिसीबारे सत्तारूढ दलमा सहमति हुँदा सहज हुने अवस्था हो । तर सत्तारूढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संसोधन र पर्याप्त छलफलविना यसमा अघि बढ्न तयार नहुने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको मात्रै भर गरेका छैनन् ।

सत्तारूढ दलमा खटपट आउन सक्ने बुझेकैले सुरुदेखि नै देउवाले जसरी पनि एमसिसी पास गर्ने विषयलाई प्रतिष्ठा मानेका छन् । यसैले पार्टीबाट सर्वसम्मत रुपमा एमसिसी पास गरेर जानेबारे निर्णय गराएका देउवाले सत्तारूढ दलसँगै प्रतिपक्षी एमालेसँग पनि समानान्तर शैलीमा संवाद अघि बढाइरहेका छन् ।

खुलमखुला एमसिसी पास गरेर जाने प्रष्ट मतका साथ अघि बढेका देउवाले पार्टीबाट निर्णय गराएपछि सत्ता गठबन्धनमा सहमति गराएर संसदमा टेबल गराए । तर देउवा यत्तिमै चुप बसेका छैनन् । यो बीचमा ओलीलाई भेट्न उनकै निवासमा पुगे । त्यस अघि विश्वासपात्र नेताहरू डा. मीनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्कीलाई ओली निवासमा पठाएर एमसिसीबारे माहोल बनाएका थिए । एमसिसीका विषयमा आफू सत्तारुढ दलको मात्रै भर नपरेको भन्दै देउवाले आवश्यक पर्दा सत्ता गठबन्धनको भर नपरी एमालेसँग मिलेर अघि बढ्ने विषयलाई पनि प्राथमिकता दिएका छन् ।

एमाले अध्यक्ष ओलीले पनि सत्ता गठबन्धन टुट्ने अवस्था आए एमसिसी पार्न गर्न आफूलाई अप्ठ्यारो नहुने बताइसकेका छन् ।
यद्यपी सभामुखलाई फिर्ता गराउने, एमालेबाट विभाजन भएको नेकपा एसका १४ सांसदलाई कारवाही गर्नुपर्ने विषय ओलीले छोडिसकेका छैनन् ।

आफूलाई विस्थापित गरी अदालतको परमादेशमा यो सरकार बनेको भन्दै ओली सबैभन्दा धेरै रुष्ट छन् । यसैले सत्ता गठबन्धन भत्किए मात्रै पनि आफ्नो राजनीतिक जित हुने र आवश्यक परे सरकारमा नगई देउवालाई समर्थन दिनेसम्मको तयारी एमालेले गरेको छ । तर यसका लागि अहिलेको सत्ता गठबन्धनको पक्षधरता एमसिसीबारे प्रष्ट हुनुपर्ने अडान एमालेले राख्दै आएको छ ।

देउवा र ओली निक्कै सहमति नजिक पुगिसकेको स्रोतको दाबी छ । ‘अब एमसिसी वा अरु विषयमा यही सत्ता गठबन्धनको मात्रै सहमति कुरेर बस्नुपर्छ भन्नेमा प्रधानमन्त्री हुनुहुन्न’ कांग्रेसमा देउवा निकट स्रोत भन्छ, ‘प्रधानमन्त्रीले विपक्षी दलका नेतालाई कहिले उहाँकै निवासमा त कहिले आफ्नै निवासमा बोलाएर अन्य नेतालाई समेत राखेर भेट गर्नुले प्रक्रिया अब धेरै अघि बढिसकेको संकेत गर्छ ।’

कांग्रेसको अर्को पक्षका नेता महामन्त्री गगन थापाले अब एमसिसीको विरोधम रहने सत्तारुढ गठबन्धनसँग सँगै नहुने चितवन पुगेर बताइसकेका छन् । कांग्रेसका अधिकांश नेता पनि अब एमसिसीलाई अलपत्र पारेर सत्ता गठबन्धन जोगाउने प्रयत्न कांग्रेसले गर्न नहुनेमा पुगेका छन् ।

ओली नेता ईश्वर पोखरेल र विष्णु पौडेलसहित देउवालाई भेट्न मंगलबार राति बालुवाटार पुगेका थिए । ओलीलाई भेटेको भोलिपल्ट आज बिहान प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न उनकै खुमलटारस्थित निवासमा पुगेका थिए ।

तर देउवा यत्तिमै रोकिएका छैनन् । एमसिसीलाई वारपार गराउन उनले गृहमन्त्री बालकृष्ण खाणलाईसमेत दौडाएका छन् । बिहान सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै खाण ओलीलाई भेट्न उनको बालकोटस्थित निवासमा पुगेका थिए ।

दुईबीच एमसिसीमा सत्ता गठबन्धनमा सहमति जुट्ने सम्भावना कम रहेकोले मिलेर जानेबारे छलफल भएको बताइएको छ । तर दुवै पक्षले वार्ताको विषयलाई बाहिर ल्याएका छैनन् ।

यस अघि संसदमा टेबल भएको एमसिसीबारे छलफल गर्न भोलि संसद बैठक बस्दैछ । यसैले यो बैठक अघि एमसिसी पास गर्ने विषयमा प्रधानमन्त्रीले वार्ता र संवाद अघि बढाएका हुन् ।

देउवाले सत्ता गठबन्धनलाई मनाउन नेता रामचन्द्र पौडेलको पनि सहयोग लिएका छन् । माधवकुमार नेपालसहितका नेतासँग संवाद गरेर एमसिसी पास गराउने वातावरणको लागि देउवाले पहल गरिरहेका छन् ।

एमसिसीका विषयमा सडकमा निरन्तर प्रदर्शन र विरोध भइरहेकाले सकेसम्म मूलधारका प्रमुख राजनीतिक दलबीच सहमति जुटाउने प्रयत्न देउवाले नछोडेका हुन् । तर एमसिसी अघि बढेर साधारण बहुमत ले पारित मात्रै भए पुगे पनि सबै प्रक्रिया पूरा हुनुपर्नेछ । संसदको प्रक्रियामा एक ठाउँमा मात्रै पनि अस्वीकृत हुँदा एमसिसी पास गर्ने चरणसम्म पुग्न कठिन पर्छ । यसैले पनि देउवाले भोटिङमा लानुपूर्व नै एमसिसीमा सहमति जुटाउने गरी दौडधूप बढाएका हुन् ।