NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

देउवा र ओलीको साँठगाँठप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरूले फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस गरिरहेको बताएका छन् ।

अमेरिकी परियोजना एमसिसीका विषयमा सत्ता गठबन्धनमा भुँइचालो आएर कांग्रेस र एमालेबीच दूरी कम हुने कोसिस भइरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

प्रतिक्रान्तिकारीहरूले पुरानै सत्ता उल्टाउने भरमग्दूर प्रयास गरिहेका भए पनि आफूहरू प्रपञ्चको जालो चिरेर अघि बढ्ने उनको भनाइ छ ।
‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्’, प्रचण्डले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एकीकृत समाजवादी एमसिसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवाले नयाँ सत्ता समीकरणको प्रयास गरिरहेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाट बढाइरहेका छन् ।  अझ भनौं देउवा र ओलीबीच साँठगाँठ सुरु भएको छ ।

गएराति मात्रै ओली देउवालाई भेट्न बालुवाटार गएका थिए । दुवैले आ–आफ्ना अडान नछोडेपछि वार्ता निष्कर्र्षविहीन टुंगिएको थियो ।

यद्यपि, विभिन्न माध्यमले देउवा र ओलीबीच नयाँ सत्ता समीकरणबारे छलफल भइरहेको बताइएको छ । यसको बटमलाइन संसद्बाट एमसिसी पारित गर्नु रहेको छ ।

प्रचण्डको अभिव्यक्ति यतैतिर लक्षित देखिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष