NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

बलेफी हाइड्रोपावरको आइपीओ आवेदनको म्याद थप

काठमाडाैं । बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ ।

अब आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाले यही फागुन १९ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता  १०० रूपैयाँ अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रूपैयाँ मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको थियो ।

तीमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र जुगल गाउँपालिकाको वडा २, ३ र ४ का बासिन्दाका लागि तथा आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्र जुगल गाउँपालिका– ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ र सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि सात लाख ३१ हजार १८८ कित्ता शेयर खरिदका लागि दर्खास्त माग गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयले छिटोमा आज फागुन १२ सम्ममा आवेदन दिनुपर्ने थियो तर यो अवधिसम्म मागबमोजिम दर्खास्त प्राप्त नभएका कारण आवेदनको समय फागुन १९ सम्म थप गरिएको कम्पनीले जनाएको छ । जसअनुसार आयोजना क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि फागुन १९ सम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कुल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै कुमारी बैंकको जलविरे शाखा, एनसिसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष