नेपाली कांग्रेसमा कुनै तिक्तता छैन : डा कोइराला
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन् ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आज यहाँ आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन, कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो, आगामी चुनावसम्मका लागि होइन ।’
सिद्धान्त र विचार नमिल्ने कम्युनिष्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा नजाने भन्दै केन्द्रीय सदस्य डा. कोइरालाले कांग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जिकिर गरे । उनले कांग्रेस विधि मान्ने र न्याय गर्ने पार्टी भएकाले पार्टीमा सबैको सम्मानजनक स्थान हुनुपर्छ भन्दै पार्टी पारदर्शी, उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भावनात्मक एकता र व्यवहारले मात्र राष्ट्रवाद बलियो हुने भन्दै जनता विभाजित गरेर राष्ट्रवाद हुन नसक्ने तर्क गरे । उनले लोकसेवा उत्तीर्ण गर्ने राष्ट्रसेवक कर्मचारी र जनताबाट उत्तीर्ण भएको जनप्रतिनिधिले भ्रष्टाचारलाई रोक्नुपर्ने विचार व्यक्त गरे ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको १४ औँ महाधिवेशनले एउटा तिथि बसालेको बताउँदै नेपाली कांग्रेस अर्धवाचन र वाचन गरेर नेतृत्व छनोट गर्ने पार्टी नभएको जिकिर गरे । उनले एमसिसी देश र जनताकै हित छ, कुनै पनि ठाउँमा राष्ट्रघात नभएको प्रष्ट पार्दै आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएर छाड्ने कुरामा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाली कांग्रेस जहिले जनता र राष्ट्रका निम्ति अघि बढिरहेको बताए । कांग्रेस प्रदेश नं. १ संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य राजीव कोइरालाले आम नागरिकको आस्था र विश्वास बोकेको कांग्रेस जनताको चाहनाअनुसार काम गर्नुपर्ने विचार व्यक्त गरे ।
सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सरिता प्रसाईं, अमृत अर्याल, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, नेता डा चन्द्र भण्डारी, कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईँ, नेता गुरुराज घिमिरेलगायतले बोलेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया