NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

युक्रेनी प्रथम महिलाको हृदयस्पर्शी पुकार

युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का यतिबेला विपत्तिमा छिन् । आफ्नो देशमाथि रुसको चौतर्फी हमला जारी छ । यस्तो विषम परिस्थितिमा ओलेनाले हरघडी आफ्ना पति युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई साथ दिइरहेकी छन् । एक नारी मात्र होइन, पत्नी हुनुको धर्म उनले साहस, धैर्य र देशभक्तिका साथ निर्वाह गरिरहेकी छन् ।

ओलेना पेसाले इञ्जियनर मात्र होइन, युक्रेनी वास्तुकार र पटकथा लेखक पनि हुन् । सन् २०१९ मा युक्रेनको ‘फोकस’ पत्रिकाले उनलाई एक सय प्रभावकारी युक्रेनीहरूको सूचीमा ३० औं स्थानमा राखेको थियो ।

ओलेना र राष्ट्रपति भ्लोदोमिरको विवाह सन् २००३ मा भएको थियो । इञ्जिनियीरङ पढे पनि उनी लेखनमा पनि दक्ष भएकाले राष्ट्रपति जेलेन्स्की कुनैबेला कमेडी अभिनेता हुँदा उनले नै धेरै श्रृंखलाको पटकथा लेखिदिएकी थिइन् ।

यो दम्पतीका छोरी अलेक्जेन्ड्रा र छोरा किरिलो छन् । राष्ट्रपति जेलेन्स्कीको एक भिडियो सन्देशमा जब उनी आफ्नी श्रीमती र बच्चाहरूको बारेमा कुरा गर्छन्, उनी निकै भावुक देखिन्छन् । उनले भनेका छन्, ‘म रुसको पहिलो तारो हुँ र मेरो परिवार दोस्रो ।’

यो सुन्दर र प्यारो परिवार कतै युद्धको चपेटामा पर्ने त होइन भन्ने चिन्ता सिंगो विश्वभरि छाएको छ । विश्वभरिबाट उनीहरूको ज्यानको सुरक्षाको पहल गर्न आग्रह भइरहेको छ । धेरैले उनीहरूलाई केही नहोस् भनेर कामना पनि गरिरहेका छन् । तर प्रथम महिला ओलेनालाई आफ्ना पति र परिवारको भन्दा पनि युक्रेन र यहाँका जनताको बढी चिन्ता छ ।

यतिबेला राष्ट्रपति जेलेन्स्कीको ज्यान खतरामा छ । रुसी राष्ट्रपति पुटिनले उनको हत्या षड्यन्त्रमा कुनै कसर बाँकी राखेका छैनन् । जेलेन्स्कीको हत्याका लागि चेचेन्याबाट ४ सय मिलिसियासमेत किभ शहरमा पठाइएको थियो, तर युक्रेनी सेनाले बीचमै उनीहरूको सफाया गरिदियो ।

रुसले राष्ट्रपति भवनमै रकेट प्रहार गरेको थियो, तर त्यो प्रहार निशानामा लागेन । पश्चिमा मुलुकहरूले राष्ट्रपति जेलेन्स्कीलाई युक्रेन छाडेर पोल्याण्ड या रोमानियामा शरण लिन आग्रह नगरेका होइनन् । तर जेलेन्स्कीले मानेनन् । बरु, स्वदेशमै रहेर उनले युद्धरत आफ्ना सेना र जनताको मनोबल बढाइरहेका छन् ।

रुसको दाबी अर्कै छ । रुसले युक्रेनका राष्ट्रपति कुनै गोप्य सेल्टरमा लुकेको र उनलाई बचाउन अमेरिकी नेवी सिल र ब्रिटिस सास कमाण्डो तैनाथ गरिएको दाबी गरेको छ । रुसको दाबी सत्य हुन पनि सक्छ, किनकि अमेरिकाका राष्ट्रपति जो बाइडेनले जेलेन्स्कीका लागि विशेष सुरक्षा उपहार पठाएको खबर आएको छ । यस्तो उपहार, जसबाट जेलेन्स्कीले छोटो पूर्वसूचनामै सोझै राष्ट्रपति बाइडेनसँग सम्पर्क राख्न सक्नेछन् ।

न्युयोर्क टाइम्स निकट सूत्रका अनुसार अमेरिकाले नाटोको सूचना प्रविधियुक्त ल्यापटप युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई पठाएको छ, जसबाट युक्रेनको सम्पर्क नाटो देशहरूसँग निरन्तर भइरहोस् । युक्रेनको डोनेत्स्क पिपुल्स रिपब्लिक फोर्सले राइट सेक्टर नियो–नाजी अर्धसैनिक समूहसम्बद्ध एक कार्यालयमा यो ल्यापटप पुगिसकेको सूचना दिएको छ । यसका साथै जेलेन्स्कीसँग मोबाइल एन्क्रिप्टेड सञ्चार उपकरण पनि छ, जुन हर क्षण उनको साथमा रहन्छ ।

जेलेन्स्की यो मोबाइलबाट कुनै पनि बेला अमेरिकी राष्ट्रपतिसँग कुराकानी गर्न सक्छन् । गत शनिबार पनि जेलेन्स्कीले बाइडेनसँग ३५ मिनेट कुराकानी गर्दा यही उपकरणको उपयोग गरेका थिए । र, यी सबै सूचना, सम्पर्क र प्रचार अभियानमा जेलेन्स्कीलाई सघाइरहेकी छिन्, उनकी पत्नी ओलेनाले ।

विश्वका प्रथम महिलाहरूसँग आग्रह

यतिबेला प्रथम महिला ओलेना विश्वका विभिन्न मुलुकका प्रथम महिलासँग सम्पर्क स्थापित गरेर रुसविरुद्ध लविङ गरिरहेकी छन् । आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत उनले विभिन्न देशका प्रथम महिलासँग आफ्ना कुरा राखिरहेकी छन् ।

ओलेनाले हालै सामाजिक सञ्जालमा जारी गरेको स्टाट्स मार्मिक थियो । त्यसमा उनले भनेकी छन्, ‘विश्वभरिका प्रथम महिलाहरू अचेल मलाई सोधिरहेका छन् कि युक्रेनलाई कसरी सहयोग गर्न सकिन्छ भनेर । मैले उहाँहरूलाई भनेकी छु, संसारलाई सत्य बताइदिनुस् । भन्नुस्, युक्रेनमा जे भइरहेको छ, त्यो पुटिनले भनेझैं विशेष सैन्य अभियान होइन, युद्ध नै हो, जहाँ आक्रमणकारी रुसी संघ छ ।’

प्रथम महिला ओलेनाले रुसी प्रचारक अनि क्रेमनलिनको मुखपत्रको आश्वासनका बावजुद युक्रेनमा हजारौं नागरिक पीडित भएको बताएकी छन् ।
‘आक्रमणकारी रुसले ढाकछोप गर्न खोजे पनि रुसी सेनाका हजारौं जवानको ज्यान गइसकेको छ । रुसका आमाहरूलाई भनौं कि उनका छोराहरू सैन्य अभ्यासमा सहभागी भइरहेका होनन्, बरु युक्रेनमा कब्जा जमाउने कोसिसमा ज्यान गुमाइरहेका छन् । यसको विरोध गर्न रुसी नागरिकलाई बोलाऊँ । उनीहरू आफ्नो नेतृत्वबाटै डराइरहेका छन् । उनीहरूलाई महसुस होस्, यो युद्ध उनीहरूका लागि पनि अन्त्यको सुरुवात हो । र यो केवल अर्थव्यवस्थाको विषय मात्र होइन,’ ओलेनाको आग्रह छ ।

ओलेनाका अनुसार युक्रेन शान्ति चाहन्छ, तर युक्रेन आफ्नो रक्षा गर्ने छ र कहिल्यै आत्मसमर्पण गर्नेछैन ।

‘युक्रेनलाई अरू आएर बचाउनु जरुरी छैन । तर हामीलाई आफ्नो सेना र नागरिकका लागि विश्वभरिको समर्थन जरुरी छ । केवल शब्दको समर्थन होइन । हामी हाम्रा मित्र राष्ट्रका जनतासँग आग्रह गर्छौं, युक्रेनी महिलाको सहयोग र राज्य सहायताका लागि पहल गरून्,’ ओलेनाले भनेकी छन् ।

ओलेनाले यो कुनै ‘बाहिरको युद्ध’ नभएको बताउँदै भनेकी छन्, ‘यो यूरोप र युरोपेली संघको सीमाहरूमा भएको युद्ध हो । युक्रेन त्यो शक्तिबाट आफूलाई बचाइरहेको छ, जो भोलि तपाईंहरूको शान्तिपूर्ण शहर र वस्तीहरूमाथि पनि आक्रमण गर्नसक्छ । मौन नरहनुस्, पुटिन परमाणु युद्ध सुरु गर्ने धम्की दिइरहेका छन्, यदि पुटिनले त्यसो गरेमा विश्वभरि सुरक्षित ठाउँ रहेनछैन ।’

किवमै प्रथम महिला र पुरुषको शिखर सम्मेलन आयोजना गरिएको सन्दर्भ स्मरण गर्दै उनले भनेकी छन्, ‘हामीले आफ्नो आवाज र प्रभावको शक्तिका बारेमा सो सम्मेलनमा छलफल गरेका थियौं । आज म तपाईंहरूसँग सत्यको यो आवाजको उपयोग गर्न आग्रह गर्दछु ।’

रुसी क्रूरताको भण्डाफोर

राष्ट्रपति जेलेन्स्कीलाई हरतरहले सहयोग गर्दै आएकी ओलेना सामाजिक सञ्जालमार्फत रुसको अमानवीय र क्रूर हर्कतको भण्डाफोर पनि गरिरहेकी छिन् । हालै उनले फेसबुकमार्फत रुसी सेनाले नियन्त्रणमा रहेका युक्रेनी बालबच्चालाई मारिरहेको तथ्य चित्रसहित शेयर गरेकी छन् ।

‘युक्रेन कब्जा गर्न आएकाहरू युक्रेनी बच्चालाई मारिरहेका छन् । होसपूर्वक तर सनकी पाराले,’ उनले भनेकी छन् ।

आफ्नो स्टाट्ससँगै उनले ६ वर्षीया सोफियाको तस्वीर पनि सेयर गरेकी छन्, जसका डेढ वर्षको भाइ, आमा, हजुरआमा र हजूरबुबालाई उनीहरू सवार कारमै गोली हानेर मारियो । परिवारले युद्धग्रस्त नोवा कचौका क्षेत्र छाडने कोसिस गरिरहेका थिए । त्यसैबेला रुसी सेनाले आक्रमण गरेर उनीहरूको हत्या गरे ।

‘युक्रेनी शहर ओचिरकाकी अलसा, विचरी ८ वर्षभन्दा बढी उमेरकी थिइनन् । गोली प्रहारबाट हजुरबुबासँगै उनको पनि मृत्यु भयो । त्यतिबेला हजुरबुबाले आफ्नो ज्यानले नातिनीलाई बचाउने कोसिस गरिरहेका थिए,’ ओलेनाले स्टाट्समा वर्णन गरेकी छन् ।

त्यसैगरी, किव शहरकी पोलिनाको हत्याप्रति उनले लेखेकी छन्, ‘राजधानीको सडकमा भएको गोलीबारीका क्रममा आफ्ना मातापिता र भाइसँगै उनको पनि मृत्यु भयो । उनकी बहिनीको हालत गम्भीर छ ।’

यसैगरी १४ वर्षीय आर्सेनिजको टाउकोमा रुसी सेनाले बन्दुकको नोकले प्रहार गरे । धेरै रगत बगेको र गोली हानाहान भइरहेकाले आर्सेनिजलाई प्यारामेडिक्ससम्म लैजान सकिएन । उनकी काकीको मृत्यु भइसकेको थियो भने बुबा–आमा पनि आगोको मुस्लोबाट बल्ल बल्ल बच्न सफल भएका थिए ।

रकेट हमलाबाट गम्भीर घाइते मारियुपोलका १८ महिनाका बालक किरिललाई पनि गोली लाग्यो र उनका माता पिताले अस्पतालमा भर्ती गरेका थिए । युद्धकै कारण अहिलेसम्म युक्रेनमा ४० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ ।

यो कहालीलाग्दो अवस्थाप्रति भावुक हुँदै प्रथम महिला ओलेनाले आफ्नो लामो स्टाट्समा लेखेकी छन्, ‘जब रुसका केही अधिकारी भन्छन् कि उनीहरू मानिसको वस्तीमा युद्ध गरीरहेका छैनन्, तब उनीहरूलाई यी बच्चाहरूको तस्विर देखाऊँ । यही हो, ती बच्चाहरूको मुहार, जुन अब कहिल्यै जवान हुनेछैनन् । रुसी सेनालाई गोलीबारी रोक्न र मानवीय पक्षमा आउन अझै कति बच्चालाई मार्नु पर्नेछ ? अझै कति रगत बगाउन आवश्यक छ ? र अझै कतै मानिस भोकै रहनुपर्ला ? ताकि रुसी सैनिक शान्तिपूर्ण सवारी साधन नष्ट गर्न बन्द गरून् ?’

ओलेनाले भोजन र चिकित्सा स्याहारबिना बेसमेन्टमा सयौं बच्चा मर्नसक्ने अवस्थाबारे पनि खुलासा गरेकी छन् ।

‘एक हप्तादेखि उनीहरूसँग सम्पर्क भइरहेको थिएन । उनीहरूका पूरै परिवार र स्वयंसेवकमाथि गोली प्रहार गरिँदैछ । विश्वका सबै इमानदार मिडियालाई उनीहरू पुकार गरिरहेका छन्, ताकि यो भयानक तथ्यलाई प्रकाशमा ल्याउन्–रुसी आक्रमणकारी कसरी बालबच्चा मारिरहेका छन् ।

यो दृष्य रुसी आमाहरूलाई पनि देखाउनुर्छ । उनीहरूलाई थाहा हुनुपर्छ कि उनका छोराहरू युक्रेनमा के गरिरहेका छन् ? रुसी महिलालाई यो तस्विर देखाऊँ उनीहरूका पति, भाइ, देशवासी हुन्, जसले कलिला बालबालिका मारिरहेका छन्, शायद उनीहरूका आफ्न्तलाई समेत । जो चुपचाप यो अपराधसँग सहमत छ, उनीहरू हरेक युक्रेनी बच्चाको मृत्युका लागि व्यक्तिगत रूपमा जिम्मेवार छन्,’ उनले भनेकी छन् ।

अन्त्यमा उनले नाटो सदस्य राष्ट्रहरूलाई भनेकी छन्, ‘नाटो राज्यहरू, अन्तमा रुसी विमानका लागि हवाई क्षेत्र बन्द गर । हाम्रा बच्चा बचाऊ, ताकि तिमीहरूको भोलि नमरोस् ।’