NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

घरमा डिप्रेसन र क्यान्सरका बिरामी, गरिबीबाट मुक्ति पाउन सपरिवार नै मर्ने प्रयास

काठमाडौं । गरिबीबाट मुक्ति पाउन देशकै राजधानी काठमाडौंमा बसोबास गर्ने एक परिवारका सबै सदस्यले सोमबार राति एकसाथ विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे । तर एकैसाथ आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन ।

विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको अवस्था गम्भीर छ । प्रहरीले जनाएअनुसार काठमाडौंको नागार्जुन नगरपालिका – ६ स्थित रामकोट डाँडापौवामा डेरामा बस्ने ३८ वर्षीय भीममान प्रधानको परिवारको कथा हो यो।

काठमाडौं महानगरपालिका – १५ डल्लु स्थायी ठेगाना भएका प्रधानको परिवारका पाँचजना डाँडापौवामा डेरामा बस्न पुगेका थिए ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीका अनुसार गरिबीबाट पार लाग्ने उपाय फेला नपारेपछि उनीहरू सपरिवार आत्महत्या गर्ने निर्णयमा पुगेका हुन् ।

‘उहाँहरूको यो किसिमको अवस्था देख्दा हामीले पनि चित खाएका छौं । गरिबीका कारण यस्तो अप्रिय निर्णय लिनु निकै चिन्ताजनक छ,’ उनले भने, ‘गरेको काम सफल नहुने र परिवारका मुख्य सदस्य नै बिरामी भइरहने समस्या रहेछ । त्यसैकारण सामूहिक आत्महत्या गर्ने अवस्थामा पुग्नुभएको रहेछ ।’

प्रहरी नायब उपरीक्षक केसीका अनुसार भीममानको परिवारमा पत्नी ३३ वर्षीया मन्दिरा, ६३ वर्षीया आमा इन्द्रमाया, ११ वर्षीया छोरी सुब्रिना र २८ वर्षीय भतिजा सुवर्णमान छन् ।

उनीहरूमध्ये भीममान डिप्रेसन र इन्द्रमाया क्यान्सरपीडित रहेछन् । सुवर्णमान सुस्त मनस्थितिका रहेको प्रहरी नायब उपरीक्षक केसीले बताए । (यो समाचार आजको नागरिक दैनिकबाट साभार गरिएको हो ।)