भक्तपुरमा फेरि बर्डफ्लू भेटियो
भक्तपुर । भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो ।
यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । सुवाल पोल्ट्री फार्मका कमर्सियल लेयर्स कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लू रोग एचपिए वानको सबटाइप एच फाइभ एच वान नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
उक्त फार्मका कुखुरामा बर्डफ्लू भेटिएको पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली, २०७८ अनुसार उक्त फार्मका कुखुरा, चल्ला तथा कुखुराजन्य पदार्थ दाना, सुली, अण्डा नियन्त्रणमा लिई नष्ट गर्ने निर्णय गरेको छ । साथै बैठकले बर्डफ्लू भेटिएको कुखुरा फार्मलाई केन्द्रविन्दु मानी पूर्वमा अजिमा इँटा उद्योगसँगै रहेको अरनिको राजमार्गतर्फ जाने कच्ची बाटो, पश्चिममा कृष्ण इँटा उद्योगसँगै रहेको अरनिको राजमार्गतर्फ जाने कच्ची बाटो, उत्तरमा हनुमन्ते खोलाको दक्षिण किनारा र दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमानाभित्र बर्डफ्लू नियन्त्रण नियमावली, २०७८ अनुसार पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री अण्डा, दाना, सुलीसमेत अन्यत्र निकासी हुन नपाउने गरी नियन्त्रणमा लिई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको संयोजकत्वमा पशु सेवा विभाग र सम्बन्धित स्थानीय तहको समन्वयमा उचित व्यवस्थापन गर्ने निर्णय गरेको प्रजिअ शर्माले बताए ।
बैठकले भक्तपुर जिल्लालगायत उपत्यका भित्रिने सबै नाकाहरुमा पशु सेवा विभागको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको संयोजकत्वमा पशु सेवा विभाग र सम्बन्धित स्थानीय तहको समन्वयमा पन्छी, पन्छीजन्य पदार्थ दाना, अण्डा, सुली ओसारपसारमा सघन निगरानी बढाउने निर्णय गरेको छ ।
बैठकले बर्डफ्लू नियन्त्रणमा खटिने कर्मचारी र कामदारलाई नियमानुसार पाउने सेवासुविधा तथा रोग नियन्त्रणका लागि नष्ट गरिएका सामग्रीको क्षतिपूर्ति उपलब्ध गराउन पशु सेवा विभाग हरिहरभवनलाई अनुरोधसमेत गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया