बीमा दाबी भुक्तानीमा सुधार गर्न आवश्यक : मुख्यमन्त्री शाही
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बीमा दाबी भुक्तानीमा सुधार गर्नुपर्ने बताएका छन् । बीमा समितिको आयोजनामा आज सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
मुख्यमन्त्री शाहीले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी समयमा नदिँदा बीमितहरू महिनौंसम्म कम्पनीहरूमा धाउनुपर्ने उल्लेख गर्दै बीमाको रकमभन्दा बढी खर्च गर्नुपर्ने अवस्था रहेकोले बीमा दाबी भुक्तानीमा सुधार गर्न आग्रह गरे । मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिए । उनले बीमाको पहुँच विस्तारका लागि बीमा शिक्षाको प्रचार प्रसारमा जोड दिनुपर्ने बताए ।
कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले कर्णाली प्रदेशको वस्तुस्थितिलाई ध्यानमा राखेर बीमालेख तयार गर्न बीमा समितिलाई आग्रह गरे । उनले प्रदेश कार्यालयमा बीमा इकाई स्थापना गर्ने जानकारीसमेत जानकारी दिए । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशका सिमान्तकृत समुदायका लागि प्रदेश सरकारबाट नै बीमा गरिदिने व्यवस्था गर्न र आर्थिकरूपले सबल समुदायका लागि भने सार्वजनिक सेवासँग आवद्ध गरेर बीमाको दायरामा ल्याउन आग्रह गरे ।
अध्यक्ष सिलवालले प्रदेश बीमा नीतिको तर्जूमा, बीमा शिक्षा लगायतका विषयमा प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न समिति तत्पर रहेको बताए । साथै, उनले बीमाको दाबी भुक्तानी विना ढिलाई सरलरूपले बीमा कम्पनीका शाखा कार्यालयहरूबाट नै दिने व्यवस्था मिलाउन पहल भइरहेको जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले बीमा दाबी भुक्तानीको प्रक्रिया लामो एवं झन्झटिलो रहेको, जोखिम बढी भएका क्षेत्रमा बीमा कम्पनीहरू बीमा गर्न अनिच्छुक देखिएको, कृषकहरूले बीमा गर्न चाहँदा चाहँदै पनि बीमा गर्न नपाएको लगायतका गुनासो गरे ।
साथै उनीहरूले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी रकम सिधै बीमितको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गर्न र बीमा समितिबाट प्रकाशित कृषि बीमा चिनारीमा सबै बीमा अभिकर्ताको नाम र सम्पर्क नम्बर समावेश गर्न आग्रह गरे ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया