४ कर्मचारी मिलेर ६० लाख ९७ हजार भ्रष्टाचार !
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्धको कारबाही तीव्र बनाएको छ । अख्तियारले पुराना भ्रष्टाचारका उजुरीहरू छानबिन गर्दै मुद्दा चलाउन थालेको छ । सोमबार २७ वर्षअघिको सार्वजनिक जग्गा दुरुपयोगसम्बन्धी भ्रष्टाचार मुद्धा दर्ता गरेको आयोगले ५ वर्षअघि भएको ६० लाख ९७ हजार रुपैयाँ बराबरको भ्रष्टाचारविरुद्ध मुद्दा चलाएको हो ।
गोरखाको अजिकोट गाउँपालिका वडा नं ३ हंशपुर र वडा नं ५ मुच्चोकका वडा सचिव दीपकबहादुर दर्जीसमेत चार जनाविरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
साविकको हंशपुर र मुच्चोक गाविसका तत्कालीन गाविस सचिव दीपकबहादुर दर्जी, हेल्थ असिस्टेन सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी विशाल बिक. र साविक मुच्चोक गाविसका अहेब चन्द्रकान्त सुवेदीले मिलेमतोमा ६० लाख ९७ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ ।
उनीहरूले जिल्ला विकास समितिबाट निकासा भएको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न रकम बुझेको तर त्यो पैसा वितरण नगरेर व्यक्तिगत खातामा लगेको अख्तियारले छानबिनबाट ठहर गरेको छ ।
अख्तियारका अनुसार आरोपितमध्ये दीपकबहादुर दर्जी र सुरेश दवाडीले संयुक्त चेकबाट रकम निकालेर विशाल विकको खातामा जम्मा गरेर हिनामिना गरेका थिए । यस्तै साविक मुच्चोक गाविसको ३३ लाख रुपैयाँ अहेब चन्द्रकान्त सुवेदी र दीपकबहादुर दर्जीको संयुक्त हस्ताक्षरबाट निकालेर हिनामिना गरेको अख्तियारको ठहर छ ।
यसरी सरकारी कोषबाट ६० लाख ९७ हजार रुपैयाँ हिनामिना गर्ने अपराधमा संलग्न चार जनाविरुद्ध अख्तियारले बिगो मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान विभागले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया