NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

टी–२० मा असफल भएपछि एकदिवसीय विश्वकप छनोटको बाटोमा नेपाल

काठमाडौं । युएईसँग पराजित हुँदै नेपाल टी–२० विश्वकप छनोटमा पुग्न असफल भएको केही समयमै एकदिवसीय विश्वकप खेल्ने अभियानतर्फ अघि बढेको छ ।

एक दिवसीय विश्वकप छनोटको आइसिसी क्रिकेट वल्र्डकप लिग २ मा नेपालले त्रिकोणात्मक सिरिज भोलिबाट खेल्दैछ । जसमा नेपालले युएई र पपुवा न्युगिनीविरुद्ध दुई दुई खेल खेल्दैछ ।

युएईको घरेलु मैदानमा नेपालले यो महत्वपूर्ण सिरिज खेल्न लागेको हो । पहिलो खेल भने पुपुवा न्युगिनीसँग भोलि हुनेछ । आज युएई र पपुवा न्युगिनी भिडिरहेका छन् ।

नेपालसहितका सातवटा टिमले ९/९ वटा त्रिदेशीय सिरिज खेल्नेछन् । यस क्रममा शीर्ष तीनमा पर्न सके नेपाल एकदिवसीय विश्वकपको विश्वस्तरीय छनोटमा पुग्नेछ । तर नेपालले अहिलेसम्म ८ खेल खेल्दा चारमा जित र चारमा हार बेहोर्दै ८ अंक जोडेको छ ।

नेपाललालाई शीर्ष तीन भित्र पर्न भने बाँकी खेल जित्नैपर्ने दबाब छ । युएईलाई दुवै खेलमा हराएर टी–२० विश्वकप छनोटमा पुग्न नसक्नुको बदला लिने अवसरसमेत नेपाललाई आएको छ ।

युएईमा हुने सिरिजको चार खेल नै जितेर ८ अंक जोड्न सके १६ अंकसहित नेपाल शीर्ष तीनमा पुग्नेछ । यो लिगमा २७ खेलबाट १७ जितसहित ओमान ३६ अंकसहित पहिलो स्थानमा छ । १२ खेल खेलेको स्कटल्याण्ड र १४ खेल खेलेको युएईको पनि १६ अंक नै छ । १२ खेल खेलेकाे पपुवा न्युगिनीले अंककाे खाता खाेल्न सकेकाे छैन ।