फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो ।
यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५५, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १३८, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५१ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९ पुगेको छ ।
मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब रु चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ । आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया