NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आयातमा गरिएको कडाइको प्रभाव : आयात घट्दै, निर्यात बढ्दै

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको सुरुवातबाटै उच्च रुपमा आयात बढ्दै गएको थियो । आयातमा उच्च वृद्धि हुन थालेसँगै नेपालको व्यापार घाटा पनि चुलिँदै गयो । उच्च दरमा बढ्दै गएको आयातलाई नियन्त्रण गर्नको लागि सरकारले आयातमा कडाइ गर्न थालियो । राष्ट्र बैंकले पनि आयातलाई निरुत्साहित हुने खालको नीति ल्यायो ।

जसको प्रभाव अहिले आयातमा देखिएको छ भने निर्यातमा सकारात्मक वृद्धि भएको छ । चालु आर्थिक वर्ष ०७८÷७९ को आठ महिनामै निर्यात व्यापारमा नेपालले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस्तो देखिएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुनसम्ममा इतिहासमै पहिलोपटक धेरै निर्यात व्यापार गर्न सफल भएको हो । उक्त अवधिमा नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । जुन गत आवको तुलनामा ८२.९० प्रतिशत वृद्धि भएको छ । । विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ८० अर्ब ७७ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

गत आवमा इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात पुगेको थियो । सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले नयाँ रेकर्ड कायम गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो ।

नेपालमा सबैभन्दा बढी व्यापार छिमेकी मुलुक भारतबाट हुने गर्छ । चालु आवको आठ महिनामा नेपालले भारतबाट ७ खर्ब ९७ अर्ब २४ करोड १६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेका छ । त्यस्तै नेपालबाट भने भारतमा १ खर्ब १८ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

फागुनमा मात्रै १६ अर्बको निर्यात

विभागका तथ्यांकअनुसार चालु आवको फागुनमा मात्रै निर्यातको उत्साहजनक तथ्यांक देखिएको छ । विभागको तथ्यांकअनुसार फागुनमा १६ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । चालु आवको माघमा भने कुल वस्तु निर्यात १ खर्ब ३१ अर्ब ६५ करोड ६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

घट्न थाल्यो आयात

उच्च मात्रामा बढ्दै गएको आयातलाई नियन्त्रणमा ल्याउनका लागि दोस्रो चौमासिकपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकले थप कडाइ गर्न थाले । यसको प्रभाव भन्नुपर्छ, फागुनमा आइपुग्दा कुल वस्तु आयात १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।

गत आवको यसै अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको तुलनामा वस्तु आयातमा ३८.६४ प्रतिशतले वृद्धि भएको हो । माघको तुलनामा भने आयात ४ प्रतिशतले कमी आएको छ । माघमा आयात प्रतिशत वृद्धि ४२.७८ प्रतिशत थियो ।

फागुनमा मात्रै १ खर्ब ६१ अर्बको आयात

विभागका तथ्यांकअनुसार फागुनमा मात्रै एक खर्ब ६१ अर्ब २७ करोड रुपैयाँ बराबरको आयात भएको छ । चालु आवको माघमा कुल आयात ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बराबरको आयात भएको थियो ।

व्यापार घाटा ११ खर्ब नाघ्यो

नेपालको व्यापार घाटा चुलिएको छ । माघको तुलनामा आयातमा कमी आएतापनि उल्लेखीय रुपमा आयात घटेको छैन । आयातमा भएको वृद्धिले व्यापार घाटा बढ्दै गएको विभागको तथ्यांक छ । फागुनसम्म आइपुग्दा व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रूपैयाँ पुगेको छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा कूल वस्तु व्यापार घाटा ३४.५० प्रतिशतले वृद्धि भएको छ । चालु आवको ८ महिनाको अवधिमा नेपालले १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

आयातको उच्च परिमाणका कारण व्यापार घाटासमेत ११ खर्ब ६० अर्ब ९८ करोड पुगेको छ । ८ औं महिनासम्म व्यापार घाटा ३४.५० प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो ।

निर्यातमा भएको सुधारका कारण कुल वैदेशिक व्यापारमा निर्यात व्यापारले आफ्नो हिस्सा केही बढाएको छ । तथ्यांकअनुसार व्यापारमा निर्यातले १०.१४ प्रतिशत हिस्सा ओगट्दा आयातले ८९.८६ प्रतिशत ओगट्छ ।

सबैभन्दा धेरै व्यापार भारतबाटै

नेपालमा सबैभन्दा बढी व्यापार छिमेकी मुलुक भारतबाट हुने गर्छ । चालु आवको आठ महिनामा नेपालले भारतबाट ७ खर्ब ९७ अर्ब २४ करोड १६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेका छ । त्यस्तै नेपालबाट भने भारतमा १ खर्ब १८ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

यसैगरी नेपालले धेरै व्यापार गर्ने अर्को छिमेकी मुलुक चीन हो । चालु आवको फागुनसम्म नेपालले चीनबाट १ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको वस्तु आयात गरेको छ । नेपालबाट भने चीनमा ५४ करोड ५८ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको तथ्यांकमा देखिएको छ ।

अन्य मलुकहरूमा अर्जेटिनाबाट नेपालले ३१ अर्ब ३२ करोड ९९ लाख वस्तु आयात गर्दा १३ लाख ९० हजारको मात्र निर्यात गरेको छ ।

अस्ट्रेलियाबाट नेपालले १७ अर्ब ९५ करोड ६० लाखको आयात गरेको छ भने ७५ करोड ३२ लाख बराबरको वस्तु निर्यात गरको छ ।

अमेरिकाबाट ३४ अर्ब ५० करोडको आयात हुँदा निर्यात ११ अर्ब २८ करोड रुपैयाँ बराबरको रहेको छ ।

कुन देशसँग कति व्यापार घाटा ?

नेपालले सबैभन्दा धेरै व्यापार गर्ने मुलुक भारत भएकाले भारतसँग नेपालको व्यापार घाटा सबैभन्दा बढी देखिन्छ । तथ्यांकअनुसार भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब ७८ अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको छ । त्यसपछि चीनसँग नेपालको व्यापार घाटा एक खर्ब ८५ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ रहेको विभागको तथ्यांक छ ।

अन्य मुलुकमा अर्जेटिनासँग ३१ अर्ब ३२ करोड ८५ लाख, अस्ट्रेलियासँग १७ अर्ब २० करोड २८ लाख, बंगलादेशसँग ७ अर्ब ८३ करोड ४१ लाख रहेको छ ।