NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम खुम्चियो

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अंकले उकालो लागेर दुई हजार ६५०.७० मा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०३ अंकले उकालो लागेर ४९९.३३ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने अपेक्षित वृद्धि भएन । कूल २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता सेयर दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ मा खरिद बिक्री भए ।

कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज तीन उपसमूको सेयर मूल्यमा गिरावट देखियो भने १० उपसमूहको सेयर भने उकालो लाग्यो । व्यापार १०.५४, जलविद्युत् १३.२९ र वित्त ७.८७ अंकले ओरालो लागे । बैंकिङ ६.८१, होटल तथा पर्यटन २०.१७, विकास बैंक ५६.७५, निर्जीवन बीमा ८४.६५, उत्पादन ४९.६३, अन्य २८.६१, लघुवित्त २६.३९, जीवन बीमा २६८.८८, सामूहिक लगानी कोष ०.२ र लगानी ०.५२ अंकले उकालो लागे ।

आजको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब नौ करोड ७० लाख ९२ हजार ४३३ बराबर पुगेको छ । कारोबारका आधारमा प्रभु इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १५ करोड ३३ लाख ४० हजार बराबरको कारोबार भयो ।

नेपाल दूरसञ्चार कम्पनी १० करोड ७१ लाख ९६ हजार ५६४, शिवम् सिमेन्ट आठ करोड ६२ लाख ३७ हजार ७३८, ज्योति विकास बैंक रु आठ करोड १८ लाख ८३ हजार ३२६ र जीवन विकास लघुवित्त रु आठ करोड पाँच लाख ५२ हजार ७७१ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे । नेप्सेका अनुसार, इमर्जिङ नेपाल ९.९९, राष्ट्र उत्थान लघुवित्त ६.०९, नेपाल लाइफ इन्स्योरेन्स ५.१८, समता घरेलु लघुवित्त ४.७७ र एनएमबी हाइब्रिड फण्ड एकका लगानीकर्ताले २.७६ प्रतिशतले कमाए ।

सानिमा बैंकको ऋणपत्र २.८६, कालिका पावर कम्पनी २.८१, ङादी ग्रुप अफ पावर २.४४, मैलुङ खोला जलविद्युत् कम्पनी २.३५ र शिव श्री हाइड्रो पावरका लगानीकर्ताले २.१६ प्रतिशतले गुमाए ।