NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

युएईसँग लज्जास्पद पराजय भोगेको नेपालद्वारा पिएनजी सहजै पराजित

काठमाडाैं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेको छ । युएईसँगका दुईवटै म्याचमा शर्मनाक पराजय भोगेर आलोचना खेपेको नेपाली टिमले अन्तिम खेलमा पिएनजीलाई ७ विकेटले पराजित गरेको हो । १७४ रनकाे लक्ष्य नेपालले ३७ ओभरमै भेट्याउँदै जित निकालेको हो । युएईसँग दुवै खेलमा ३५.१ ओभरमा नेपाल अलआउट हुँदा पराजित भएको थियो ।

एक दिवसीय विश्वकप छनोटको यो सिरिजमा नेपालले पिएनजीलाई दुवै खेलमा पराजित गरेको हो । पहिलो खेलमा नेपालले रोमाञ्चक २ विकेटको जित निकालेको थियो ।

नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक बनाए ।

१०२ बलमा नटआउट ६० रन बनाएका आरिफ शेख प्लेयर अफ द म्याच घोषित भए ।

रोहित पौडेलले ४८ बलमा ४४ रनको महत्वपूर्ण पारी खेले ।

कुशल भुर्तेल ५० रन बनाएर आउट भएलगत्तै दोस्रो बल खेल्ने क्रममा दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि रोहित ब्याटिङमा उत्रिएका थिए । उनले यस अघि पिएनजीलाई पराजित गरेको खेलमा पनि ५९ रन बनाएका थिए । आरिफले ४९ रन बनाएका थिए । रोहित पौडेल पनि अर्धशतक नजिक पुग्दा नेपालले जित निकाल्यो ।

वल्र्ड कप लिग २ मा सात टिमले विश्वकप छनोट खेलिरहेका छन् । जसमा २८ खेलबाट ओमान ३६ अंकसहित पहिलो, युएई १८ खेलबाट २२ अंकसहित दोस्रो, स्कटल्याण्ड १२ खेलबाट १६ अंकसहित तेस्रो, नामिबिया १४ खेलबाट १४ अंकसहित चौथो, अमेरिका १६ खेलबाट १४ अंकसहित पाँचौं र नेपाल मंगलबारको जितसहित १२ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । नेपालसँग पराजित भएको पिएनजीले १५ खेलमा एकमात्र जित्दा २ अंक मात्रै जोडेको छ ।

सिरिजमा युएईले चारमध्ये तीन, नेपालले चारमध्ये २ र पिएनजीले चारमध्ये एक खेल जिते । पिएनजीले नेपालसँग दुवै खेल हार्दा युएईलाई भने पराजित गर्याे ।