चौधरी फाउन्डेसनद्वारा गिरानचौरमा निर्मित बस्ती हस्तान्तरण
काठमाडौं । चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको उद्घाटन गरेका छन् । आइतबार गिरानचौरमा आयोजित एक कार्यक्रमकाबीच चौधरीले निर्माण भएका ६२ घर स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध परिवारलाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष चौधरीले ट्वीटरमार्फत निर्माण भएका ६२ घर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले लेखेका छन्, ‘सिन्धुपाल्चोकको गिरानचौरमा चौधरी फाउन्डेसनको तदारुकतामा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीका ६२ घरहरु हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । डिजिटल क्लासरुम, स्वास्थ्य, खानेपानी र सीप विकासका कार्यक्रममार्फत यस बस्तीलाई मोडल भिलेजका रुपमा प्रस्तुत गर्न सकिएकोमा गौरवान्वित छौं ।’
२०७२ सालको भूकम्पले घर भत्काएपछि गिरानचौरबासीले सहयोग मागेपछि फाउण्डेसनले राष्ट्रिय पुननिर्माण प्राधिकरणसागको सहकार्यमा उक्त एकीकृत बस्ती निर्माण गरेको हो । नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समिति मातहातका परिवारले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामाग्रीको सहयोग गरेका थिए ।
हस्तान्तरण गरिएको एकीकृत बस्तीमा निर्माण गरिएका घरमा तीन कोठा, शौचालय र करेसाबारी छ । घर निर्माणमा प्रयोग भएका करिब २ लाख इट्टा गाउँमै तयार गरिएको हो । यसका लागि आवश्यक उपकरण, तालिम र अन्य सामाग्री चौधरी फाउन्डेसनले प्रदान गरेको थियो । पछि आवश्यकताअनुसार दुई तलासम्म घर थप्न मिल्नेगरी बलियो बनाइएको फाउन्डेसनको दावी छ ।
फाउन्डेसनले बस्ती नजिकको महाकाली माध्यमिक विद्यालयमा डिजिटल क्लासरुम स्थापना गरेको छ भने स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि आवश्यक सामाग्री र उपकरणहरु उपलब्ध गराउने घोषणा पनि गरेको छ ।
सिन्धुपाल्चोकको गिरानचौरमा चौधरी फाउन्डेसनको तदारुकतामा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीका ६२ घरहरु हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । डिजिटल क्लासरुम, स्वास्थ्य, खानेपानी र सीप विकासका कार्यक्रममार्फत यस बस्तीलाई मोडल भिलेजका रुपमा प्रस्तुत गर्न सकिएकोमा गौरवान्वित छौं । pic.twitter.com/0d4xafxxod
— Binod Chaudhary (@BinodKChaudhary) March 27, 2022
प्रतिक्रिया