NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सानै उमेरमा प्रख्यात अभिनेत्री बनेकी दिव्याकाे मृत्यु सधैं रहस्यमै

मुम्बई । दिव्या भारतीले थोरै समयमै बलिउडमा ख्याती कमाएकी थिइन् । उनका लाखौं प्रशंसक थिए तर सन् १९९३ को अप्रिल ५ मा उनको अचानक मृत्यु भयो । उनको मृत्युले बलिउडमा ठूलै तरंग ल्यायो । दिव्या भारतीको मृत्युलाई लिएर विभिन्न धारणाहरु छन् । उनको मृत्यु आत्महत्या थियो वा हत्या, अझै पनि रहस्यमै छ ।

दिव्या भारतीको जन्म सन् १९७४ फेबु्रअरी २५ मा मुम्बईमा भएको थियो । उनले आफ्नो पढाई मुम्बईबाट नै गरेकी थिइन् । दिव्यालाई बाल्यकालदेखि नै अभिनय गर्न मन पथ्र्यो । उनले सन् १९९० मा तेलुगु फिल्म ‘बोब्बिली राजा’ बाट अभिनय सुरु गरेकी थिइन् । यसपछि धेरै दक्षिण भारतीयले सिनेमामा पनि काम गरिन् ।

भारतीले बलिउडमा आफ्नो करिअरकाे सुरुवात १६ वर्षको उमेरमा फिल्म ‘विश्वात्मा’ बाट गरेकी थिइन् । उनीसहित फिल्ममा सनी देओल, अमरिस पुरी, चन्की पान्डेय र नसरुद्दीन शाह थिए ।

सन् १९९२ मा रिलिज भएकाे फिल्म विश्वात्मालाई दर्शकले निकै मन पराए । यसपछि दिव्याले ऋषि कपुर, शाहरुख खान र सुनिल सेट्टी ठूला कलाकारसँग स्क्रिन सेयर गरिन् ।

भारतीले ‘दिलका क्या कसुर, शोला और शबनम, दिवाना, बलवान र दिल ही तो है’ सहित प्रख्यात फिल्ममा अभिनय गरेकी छन् । फिल्मसँगै उनी आफ्नो निजी जिन्दगीलाई लिएर पनि सधैं चर्चामा रहिन् ।

उनले निर्माता एवं निर्देशक साजिद नाडियावालासँग गोप्य तरिकाले विवाह गरेकी थिइन् । मिडियाका अनुसार भारतीका परिवारले उनको विवाहलाई स्वीकार गरेका थिएनन् । तर १९९३ को अप्रिल ५ को रात दिव्याको अन्तिम रात बन्न पुग्यो । मुम्बईको बर्सोभा क्षेत्रमा रहेको पाँच तले भवनबाट खसेर उनको मृत्यु भएको थियो । केहीले उनले आत्महत्या गरेको अनुमान गर्छन् ।

कतिपयले उनको षडयन्त्रपूर्वक हत्या भएको बताउँछन् । मुम्बई प्रहरीले पनि मृत्युको कारण पत्ता लगाउन सकेन र सन् १९९८ मा मुद्दा बन्द गर्यो । बलिउड उद्योगमा अहिलेसम्म पनि प्रसिद्ध अभिनेत्रीको मृत्युको कारण पत्ता लाग्न सकेको छैन ।