ग्वार्डिओला ब्राजिलको चौथो विदेशी प्रशिक्षक बन्ने सम्भावना कति ?
काठमाडौं । विश्व फुटबल बजार अहिले एउटा विषयले तातेको छ । म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओला ब्राजिल राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्दैछन् भन्ने विषयले फुटबल बजार तातेको हो ।
वर्तमान प्रशिक्षक टिटेले यसै वर्षको विश्वकपपछि ब्राजिलियन टोली छाड्ने बताइरहेका बेला नयाँ प्रशिक्षकको रूपमा ग्वार्डिओलाको नाम आएको हो ।
स्रोतका अनुसार ब्राजिलियन फुटबल संघ सन् २०२६ को विश्वकपसम्मका लागि ग्वार्डिओलासँग चार वर्षको सम्झौता गर्न चाहिरहेको छ ।
यसका लागि उसले वार्षिक १२ मिलियन युरो दिन तयार देखिएको छ । यो राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका लागि राम्रो तलब हो ।
ब्राजिलको फुटबल संघले यतिबेला स्पेनिस प्रशिक्षक ग्वार्डिओलाका एजेन्टसँग छलफल गरिरहेको बताइएको छ । छलफल सकारात्मक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बार्सिलोनाका पूर्वव्यवस्थापकसमेत रहेका ग्वार्डिओलाको सिटीसँगको सम्झौता सन् २०२३ पछि सकिँदैछ । यसपछि उनी खाली हुँदैछन् ।
यसै मौकालाई सदुपयोग गर्दै ब्राजिलले ग्वार्डिओलालाई अनुबन्ध गर्न चाहेको हो ।
यदि अफर स्वीकारे ग्वार्डिओला ब्राजिलियन राष्ट्रिय टोलीको चौथो विदेशी प्रशिक्षक बन्नेछन् ।
स्वयम् ग्वार्डिओला पनि आफूले अब राष्ट्रिय टोलीको प्रशिक्षक बन्न चाहेक यसअघि नै बताइसकेका छन् ।
स्पेनिस राष्ट्रिय टोलीका प्रशिक्षक लुइस इनरिकेले आफू पछि ग्वार्डिओलाले टिम सम्हाल्नुपर्ने बताएका थिए । तर, स्पेनिस फुटबल संघले भने यसबारे कुनै विषय बताएको छैन ।
यस्तोमा ग्वार्डिओला स्पेनको भन्दा बढी ब्राजिलकै प्रशिक्षक बन्ने सम्भावना प्रबल देखिएको छ ।
ब्राजिलियन राष्ट्रिय टोलीको १०८ वर्षे अवधिमा तीनजना विदेशी प्रशिक्षकले ब्राजिलियन राष्ट्रिय टोली सम्हालिसकेका छन् ।
सन् १९२५ मा उरुग्वेका रोमोन प्लाटेरो, १९४४ मा पोर्चुगलका जोरेका र १९६५ मा अर्जेन्टिनाका फिल्पो नुनेजले ब्राजिलियन टोली सम्हालिसकेका छन् ।
ब्राजिलले सन् २००२ यता विश्वकप जित्न सकेको छैन । यस्तो अवस्थामा ब्राजिल विदेशी प्रशिक्षकको खोजीमा लागेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया