संस्कृति संरक्षणका लागि गाउँपालिकाले दियो पञ्चेबाजा
स्याङ्जा । पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ ।
विभिन्न शुभ कार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृति संरक्षणका लागि शुक्रबार पञ्चेबाजा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।
उनले भने, ‘परम्परा र चालचलन हराउँदै गएमा हाम्रो संस्कृति मासिन्छ त्यसैले संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेका हौं । संस्कृति र परम्परा संरक्षण गर्दै नयाँपुस्तामा हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो ।’
पञ्चेबाजा लोप हुन नदिन चालू आर्थिक वर्षमा विनियोजन गरिएको आठ लाख बजेटबाट खरिद गरिएका बाजा विभिन्न वडाका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए ।
बाजा पाएपछि आँधीखोला–५स्थित अरिङ्गालले बाजा समूहका अध्यक्ष ठाकुर परियारले भने, ‘धेरै वर्ष पहिले किनेका पुराना बाजालाई मर्मत गरेर चलाउने गरेका थियौं नयाँ बाजा महँगो पर्ने भएकाले किन्न सक्ने अवस्था थिएन गाउँपालिकाले बाजा वितरण गरेकामा आज धेरै खुसी लागेको छ ।’
पञ्चेबाजा बजाउँदै आएका पालिकाका छ वटै वडाका आठ बाजा समूहलाई नरसिंह, सनही, दमाहा, ढोलकी, ट्याम्को र एउटा झ्याली वितरण गरिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया