NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेपालको लोकेसनमा लठ्ठै बलिउड

काठमाडौं । केही समय यता भारतीय चलचित्रकर्मीहरु नेपालमा चलचित्र छायांकनका लागि आउने क्रम बढेको छ । बलिउडका लागि नेपाल चलचित्र छायांकनको उपयुक्त ‘लोकेसन’ बन्दैछ ।

अहिले भोजपुरी चलचित्रका कलाकार धमाधम नेपालमा छायांकनका लागि आउने क्रम जारी छ । भोजपुरी चलचित्रका चकलेटी हिरो प्रदीप पाण्डे चिन्टु अचेल आफ्नो प्रदर्शोन्मुख चलचित्र ‘वन म्यान आर्मी’को छायांकनमा व्यस्त छन् ।

यो चलचित्रको छायांकन अहिले नेपालको मुस्ताङमा भइरहेको छ । चलचित्र छायांकनको तस्बिर अभिनेता चिन्टूले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । यो चलचित्रमा प्रदीप पाण्डेका साथ नेपाली अभिनेत्री शिल्पा पोखरेल देखिँदैछिन् । अभिनेत्री शिल्पा पोखरेलले पहिला पनि चिन्टूका कयौं चलचित्रमा अभिनय गरिसकेकी छन् ।

त्यसैगरी, यसै चलचित्रमार्फत चर्चित गायिका बेबी काजलले अभिनयमा डेब्यू गर्दैछिन् । पशुपतिनाथ चलचित्र प्रोडक्शनको ब्यानरमा निर्माण हुने ‘वन म्यान आर्मी’ एक एक्सन चलचित्र हो । यसको निर्माता रञ्जित सिंह र सोनु खत्री हुन् । चलचित्र निर्देशन पनि खत्रीले नै गर्दैछन् ।

चलचित्रमा प्रदीप पाण्डे चिन्टूको अहिलेसम्मकै खतरनाक बाइक चेञ्जिङ स्टन्ट हेर्न पाइनेछ । निर्माताका अनुसार यो चलचित्रको एक्सन अन्य भोजपुरी चलचित्रभन्दा फरक छ । बलिउड र दक्षिण भारतीय चलचित्रको प्यार्टनमै यो चलचित्र निर्माण भइरहेको छ ।

उता, नेपालमा छायांकनमा आएकै बेला हालै भोजपुरी चलचित्रको सुपरहिट जोडी दिनेशलाल यादव निरहुवा र आम्रपाली दुबे चर्चामा छन् । उनीहरूको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाइरल तस्बिरमा निरहुवा र आम्रपालीलाई नेपाली दुलाहादुलहीको भेषभुषामा देखिन्छ । भोजपुरी कलाकार प्रदीप पाण्डे चिन्टू र अकेला कल्लुलगायतका कलाकारले यो तस्बिरमा कमेन्ट गर्दै ‘नव जोडीलाई बधाई’ भनेपछि फयानहरु अन्यौलमा परेका थिए, कतै निरहुवा र आम्रपालीको साच्चै विवाह त भएन ? भनेर ।

२०२२ अप्रिल ७ मा निरहुवाले आफ्नो इन्स्टाग्राम ह्याण्डलमा आम्रपालीका साथ काठमाडौंबाट विवाहको एउटा फोटो सेयर गरे । दुलाहा–दुलहीको भेषमा रहेको फोटोको क्याप्सनमा उनले ‘नेपाली विवाह’ लेखेका थिए । फ्यानलाई लाग्यो, पक्कै उनीहरूले विवाह गरे ।

खासमा यो तस्बिर ‘निरहुवा बनल करोडपति’ चलचित्रको क्रममा खिचिएको हो, जसको छायांकन अहिले नेपालमा भइरहेको छ । यसमा निरहुवा र आम्रपालीका साथै अयाज खान र पल्लवी कोलीको पनि अभिनय छ ।

निरहुवाले तस्बिर शेयर गरेलगत्तै आम्रपालीले पनि इन्स्टाग्राममा एक रिल भिडियो शेयर गरिन् । पृष्ठभूमिका नेपाली चलचित्र ‘बेहुली’को ‘माया के होला’ राखिएको थियो । यो भिडियोमा निरहुवा र आम्रपालीको दुलाहा दुलहीको गेट अप निकै मायालु भएकाले दर्शकले मन पराए । उनीहरूको केमेस्ट्री पनि मिलेको देखिन्छ । दुवैका रूपको बान्की पनि नेपालीजस्तै ।

यो त भोजपुरी चलचित्रको नेपाल प्रेमको कुरा भयो । केही समययता नेपाल भारतीय चलचित्रकर्मीको ‘हब’ नै बनेको छ । केही महिनाअघि नेपालका हिमाली क्षेत्रमा चलचित्र ‘उचाइ’ को छायांकन सकेर अनुपम खेर र बोमन इरानीको टोली फर्र्किएको थियो ।

यसैगरी, दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता विजय सेतुपाथी र केके मेनन पनि गत मंसिरमा छायांकनकै सिलसिलामा नेपाल आएका थिए । निर्देशक कृष्णदशारा कोथापालीसहितको १६ सदस्यीय टोली ‘फेक’ नामक वेब सिरिजको छायांकन गरी फर्केको थियो ।

काठमाडौंको वसन्तपुर र भक्तपुरमा छायांकन भएको यो वेब सिरिजका निर्देशक कोथापालीले नै सन् २०१८ मा रिलिज भएको बलिउडको कमेडी हरर फिल्म ‘स्त्री’को पटकथा लेखेका थिए ।

चलचित्र ‘उचाइ’को छायांकनका कारण नेपालका आकर्षक पर्यटकीयस्थलको अन्तर्राष्ट्रिय क्षेत्रमै प्रचार भयो । अभिनेता अनुपम खेरले आफ्नो पशुपति दर्शन र हिमाली भेगका जनतासँग भेटघाट गरेको भिडियो र तस्बिर आफ्नो सामाजिक सञ्जालमार्फत सेयर गरेर नेपाल उपयुक्त छायांकन गन्तव्य हुनसक्ने सन्देश दिएका थिए ।

बलिउडका हास्य अभिनेता राजपाल यादव अभिनित चलचित्र ‘कडके कमालके’ छायांकन पनि नेपालमै भएको थियो । उनले नेपाललाई ‘स्विटजरल्याण्ड’ भनेर प्रशंसा गरेका थिए ।

‘नेपाल स्विटजरल्याण्डभन्दा सुन्दर छ । जता हेर्‍यो त्यता मजेदार दृष्य छन् । चलचित्र छायांनका लागि नेपालको जुनसुकै कुनामा जान सकिन्छ । यो आफैंमा एउटा सजिसजाउ सेट हो । अहा, नदी, झरना, हिमाल एक से एक सुन्दर,’ यादवले भनेका थिए ।

अभिनेता यादवको ‘कडके कमालके’को कथावस्तुसमेत नेपालकै छ । यसमा अभिनेता यादवले नेपाली युवाको भूमिका निर्वाह गरेका छन् । गाउँमा उट्पटयाङ काम गर्दै हिँड्न थालेपछि गाउँका मुखियाले कुनै नक्कली साधुमार्फत उनलाई ‘बम्बई गएमा धनी बन्न पाइने’ भाउँतो लगाइदिन्छन् । साधुको सल्लाह मानेर राजपाल बम्बई पुग्छन्, जहाँ उनी साँच्चै धनी हुन्छन् र धनी युवतीसँग प्रेम गर्छन् ।

यसैबीच नेपालमा ०७२ को महाभूकम्प जान्छ । आखिर गाउँलेले फन्टुस भनेर धपाएका राजपाल भूकम्पपीडितको सहायतार्थ ट्रकभरि राहत सामग्री बोकेर नेपालको आफ्नो गाउँ फर्कन्छन् र स्वदेशमै बस्ने निधो गर्छन् ।

नेपालीलाई स्वदेशमै बसेर मिहिनेत गर्न प्रेरित गर्ने ‘कडके कमालके’मा राजपालले ढाका टोपी लगाउँदै, नेपाली भाषामै संवाद गर्दै आकर्षक अभिनय गरेका छन् । बम्बईमा गुण्डाहरूले कुटेपछि उनले आफ्ना साथीसँग भन्छन्, ‘नेपालबाट साथीहरू बोलाउ त, खै खुकुरी कहाँ छ ? सब गुण्डाहरूलाई ठीक पार्छु, गोर्खालीको पावर देखाउँछु ।’

मजाको चलचित्र, जहाँ नेपालको राष्ट्रियताको भरपुर सम्मान गरिएको छ । नेपाल र भारतको सम्बन्धको जनस्तरको आयामलाई समुधुर बनाउन खोजिएको छ । केही बलिउड चलचित्रले नेपाललाई ‘पाकिस्तानी आतंकवादीहरुको आश्रय थलो’का रूपमा भ्रमपूर्ण चित्रण गरिरहेका बेला ‘कडके कमालके’ले नेपालीको भावनाको सम्मान गरेको छ ।

अमिताभ बच्चनदेखि देवानन्दसम्म

बलिउड निर्देशक सुबास घइले कुनैबेला ‘नेपाल समग्रमा एउटा सुटिङ स्पट हो, यो सिंगो देश नै आउटडोर छायांकनको स्टुडियो हो’ भनेका थिए ।

बिगतमा पनि चलचित्र ‘महान’ र ‘खुदा गबाह’को छायांकन नेपालमै भएको थियो र यी दुवै चलचित्रका अभिनेता अमिताभ बच्चन नेपालमा धेरै दिनसम्म बसेका थिए । डेनी डेन्जोङपा अभिनित चलचित्र ‘आँधी तुफान’को धेरैजसो छायांकन भक्तपुर दरबार स्क्वायर र अन्य विभिन्न ठाउँमा भएको थियो ।

बलिउडका चर्चित्र अभिनेता देवानन्दको सुपरहिट चलचित्र ‘हरे कृष्ण हरे राम’को अधिकांश भागको छायांकन नेपालमै भएको थियो । यसैगरी गायक सोनु निगम हिरो भएर अभिनय गरेको ‘लभ इन
नेपाल’ पनि पोखरामा छायांकन गरिएको थियो । देवानन्दको ‘घरवाली बहारवाली’ चलचित्रको छायांकन नेपालका विभिन्न भागमा भएको थियो ।

बलिउड चलचित्र ‘बेबी’को काठमाडौंमै छायांकन हुँदा अभिनेता अक्षयकुमार आएका थिए । साउथ इण्डियन सुपरस्टार विक्रम अभिनित चलचित्र ‘दस गिने से पहेले’को छायांकन भक्तपुर, भैंसेपाटी, स्वयम्भू र मुडेमा भएको थियो । यो चलचित्रमा नेपाली कलाकार सुनील थापाको पनि अभिनय छ । अनील कपुर अभिनित ‘युद्ध’, दक्षिण भारतीय चलचित्र ‘दसका दम’मा पनि नेपालका चित्ताकर्षक दृष्य देख्न सकिन्छ ।

हलिउडको पनि रोजाइ

केही वर्षअघि चर्चित चलचित्र ‘डक्टर स्ट्रेन्ज’को छायांकन न्युरोड, पाटन, ठमेल, असन, स्वयम्भूलगायतका स्थानमा भएको थियो । छायांकनका क्रममा चर्चित हलिउड अभिनेता बेनेडिक्ट कम्बरब्याच र ओस्कार विजेता चलचित्र ‘टुवेल्भ इयर्स अ स्लेभ’का अभिनेता चिउटेल इजिफोर नेपाल आएर केही साता बसेका थिए ।

एरिक भ्यालीको चलचित्र ‘क्याराभान’ नेपालमै छायांकन भएको थियो, जसमा उपल्लो डोल्पाका नेपाली थिन्लेको मुख्य भूमिका थियो । चौरी चराउनेहरूको कथामा बनेको यो चलचित्रका निर्देशकले त्यसअघि नेपालमै ‘हनी हन्टिङ’को पनि छायांकन गरेका थिए, जसमा भीर मौरीको मह काढ्नेहरूको जोखिम झल्काइएको थियो ।

२०७० सालमा हलिउड चलचित्र ‘एभरेष्ट’को छायांकन पनि नेपालका हिमाली क्षेत्रमै भएको हो, जसमा क्याप्टेन विजय लामाको समेत अभिनय छ । सन् १९८६ मा सगरमाथा आरोहणका क्रममा निधन भएका आरोहीको कथामा आधारित यो चलचित्रले नेपालको पर्यटनमा सहयोग गरेको थियो ।

यसैगरी हलिउड चलचित्र ‘सोल्ड’ र ‘हाइवे टू धम्पुस’ पनि नेपालका पोखरामा छायांकन भएको थियो । ‘लर्ड बुद्ध’ र ‘अ नाइट ट्रेन टू काठमाडौं’, ‘द गोल्डन चाइल्ड’, ‘बराक’, ‘सेभेन एअर्स इन तिब्बत’, ‘द फल’, ‘वियोन्ड दी एज’लगायतका चलचित्र नेपालमा छयांकन भएका हुन् ।