NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अर्थमन्त्री हटाउन चाहन्थे देउवा, हटाए गभर्नर

काठमाडौं । मुलुकमा आर्थिक सुधारका संकेत नदेखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनअघिसम्म अर्थमन्त्री जनार्दन शर्मालाई हटाउने मनस्थितिमा थिए । कांग्रेसनिकट अर्थविद् मात्र होइन, सरोकारवाला निकायका अधिकारीहरूका सुझावका आधारमा अर्थमन्त्री बदल्ने विषयमा देउवाले सत्ता गठबन्धनको शीर्ष बैठकमा समेत छलफल गरेका थिए । तर अर्थमन्त्रीको अक्षमता ढाकछोप गर्न देउवा एकाएक गभर्नर हटाउन सहमत भएपछि पार्टीभित्रै आलोचित भएका छन् ।

देउवानिकट एक नेताको दाबीमा आर्थिक सुधारका लागि गभर्नर महाप्रसाद अधिकारी बाधक रहेको भन्दै उनलाई हटाउनुपर्ने प्रस्ताव लिएर अर्थमन्त्री शर्मा केही दिनअघि प्रधानमन्त्रीसमक्ष पुगेका थिए । ‘गभर्नरले सरकार र राष्ट्र बैंकका सबै सूचना एमाले अध्यक्ष केपी ओलीकहाँ पुर्याएको र सरकारको नीतिभन्दा बालकोटको स्वार्थअनुसार काम गरेको भन्ने सिकायत थियो,’ ती नेताले भने, ‘तर सुरुमा देउवाले सहमति नदिएपछि शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत पहल गरेका थिए । दाहालको दबाबपछि गभर्नर हटाउने प्रक्रिया सुरु भएको हो ।’

अर्थतन्त्र संकटमा रहेका बेला गभर्नरलाई निलम्बन गर्ने निर्णयले अर्थ र वित्त क्षेत्रको मनोबल झन् कमजोर भएको भन्दै सत्तारूढ कांग्रेसका नेताहरूले असन्तुष्टि पोखेका छन् । गठबन्धन चलाउने नाममा सभापति एवं प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मूल्य मान्यता र पद्दतिमा नोक्सानी हुने निर्णय गरेको नेताहरूको भनाइ छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।