NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बायर्न म्युनिख र चेल्सीको च्याम्पियन्स लिगबाट दु:खद् बहिर्गमन

काठमाडौं । पाँच पटकको विजेता बायर्न म्युनिखको च्याम्पियन्स लिगमा दु:खद् बहिर्गमन भएको छ । बलियो जर्मन टिम बायर्न घरेलु मैदानमा भएको दोस्रो लेगमा भिल्लारियलसँग १–१ गोलको बराबरीमा रोकिएपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको हो ।

पहिलो लेगमा बार्यन भिल्लारियलसँग १–० गोलले पराजित भएको थियो । जित्नैपर्ने प्रष्ट गोल अन्तरले जित्नैपर्ने खेलमा बायर्नले खेल सकिन दुई मिनेट बाँकी छँदा गोल खाएको थियो ।

खेलको ५१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । यो अग्रता ८८ मिनेटसम्म मात्रै कायम भयो । सामु चुक्वेजेले भिल्लारियलका लागि दुई मिनेट बाँकीमा गोल फर्काएपछि बलियो टोली बायर्नको दुखद् बहिर्गमन भएको हो ।

सेमिफाइनलमा पुगेको भिल्लारियल जारी स्पेनिस लिगमा सातौ नम्बरमा छ । यही टिमले जर्मन लिगको यो वर्षको विजेता लगभग पक्का भएको बायर्नलाई स्तब्ध पारेको हो ।

गएराति नै भएको खेलमा चेल्सीलाई समग्रमा ५–४ ले पछि पार्दै रियल म्याड्रिड पनि सेमिफाइनमा पुगेको छ ।

साविक विजेता चेल्सीले पनि उस्तै दुर्भाग्यपूर्ण पराजय बेहोर्यो । खेलको ७९ औं मिनेटसम्म चेल्सी ३–० गोल अन्तरले अघि हुँदा पहिलो लेगको सहित ४–३ अघि थियो ।

तर ८० औं मिनेटमा मड्रिडका लागि रोड्रिगोले गोल गर्दा खेल समग्रमा ४–४ मा पुग्यो । ९० मिनेटपछि थपिएको ३० मिनेटको खेलमा ९६ औं मिनेटमा रियलका लागि करिम बेन्जमाले निर्णायक गोल गरे ।

उनै बेन्जमाको ह्याट्रिक गोल मद्दतमा रियलले चेल्सीविरुद्धको पहिलो खेलमा राम्रो अग्रता बनाएको थियो । बेन्जमाले स्टारले भरिएको पिएसजीविरुद्ध ह्याट्रिक गर्दै प्रतियोगितबाट बाहिर पठाएका थिए ।

आज राति म्यानचेस्टर सिटी र एटेलेटिको म्याड्रिडबीच दोस्रो लेग हुँदैछ । पहिलो लेगमा सिटी १–० ले अगाडि छ ।

अर्को खेलमा लिभरपुल र बेन्फिका भिड्दैछन् । लिभरपुल ३–१ ले अगाडि छ । आज रातिको खेलपछि सेमिफाइनलिस्टको टुंगो लाग्नेछ ।