NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सेनाका लागि रुसी हेलिकप्टर किन्न कसरत

काठमाडौं । युक्रेनमाथि सैन्य कारबाही चलाएपछि रुससँग सिंगो विश्व समुदाय चिढिएको छ । विश्व शक्ति अमेरिकासहित पश्चिमा मुलुकले रुसमाथि आर्थिक नाकाबन्दी लगाएका छन् ।

रुसबाट विश्वबजारमा आपूर्ति हुने पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक वस्तुमा समेत रोक लगाइएको छ । जसले गर्दा विश्व बजारमा महँगी चरमचुलीमा छ । रुसबाट पेट्रोलियम पदार्थ, खाद्य सामग्रीलगायत आयात गर्ने मुलुकलाई पनि शक्ति राष्ट्रहरूले धम्की दिइरहेका छन् ।

विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाट नै दुई वटा सैन्य हेलिकप्टर ल्याउने सरसार गरिरहेको छ । रक्षा तथा अर्थ मन्त्रालयले समेत त्इसमा अन्तिम लालमोहर लगाइसकेका छन् । यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप छ ।

नेपाली सेनाले पाँच वर्षअघि नै रसियन एमआई १७ भी ५ हेलिकोप्टर भित्राउने तयारी गरेको थियो । त्यसका लागि सेनाले २०१७ डिसेम्बर २७ मा रसियाली सरकारी कम्पनी रोजोबोरोनसँग सम्झौता गरेको थियो । सो कम्पनीका तर्फबाट काठमाडौंस्थित रसियन राजदूतावासका प्रथम सचिवले हस्ताक्षर गरेका थिए ।

नेपाली सेनाका तर्फबाट जंगी अड्डाले हस्ताक्षर गरेको स्रोतको भनाइ छ । रुसले यही कम्पनीबाट एकीकृत रुपमा सैन्य तथा सुरक्षा सामग्री निर्यातको काम गर्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक राष्ट्रपति हुँदा यो कम्पनी खोलेका थिए ।

सम्झौतापछि अमेरिकाले सांकेतिक रूपमा असन्तुष्टि जनायो । अमेरिकाको असन्तुष्टिपछि नेपाली सेना हच्कियो र रुसी हेलिकोप्टर खरिद गर्ने कदमबाट पछि हट्यो । रुसी हेलिकोप्टर खरिद गर्दा अमेरिकी सहयोग घट्ने संकेत पाएपछि नेपाली सेना हच्किएको स्रोतको दाबी छ । त्यतिबेला अमेरिकाले नेपाललाई चार सैन्य जहाज अन्य सैन्य सामग्री दिने वचन दिएको थियो । त्यसपछि नेपाली सेनाले बहानाबाजी गर्दै खरिद प्रक्रिया टार्दै आएको थियो । सेनाले विभिन्न बहानामा प्रतिक्रया लम्ब्याउँदै आयो । त्यसमा कोभिड–१९ को महामारी पनि सहायक बन्न पुग्यो । पछि प्रधानसेनापतिमा पूर्णचन्द्र थापा आए उनले त्यसमा बेवास्ता गरेकोमा अहिले भने खरिदका लागि कसरत भइरहेको नागरिक दैनिकमा खबर छ ।