NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

भारतमा संक्रमण, नेपालमा झस्को

काठमाडौं । भारतका विभिन्न राज्यमा कोभिड संक्रमण दर उच्च गतिमा बढेसँगै नेपालमा फेरि झस्को पसेको छ । सम्भावित लहर र जोखिमबाट बच्न कोभिडविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर, खोपप्रतिको सुस्तताका कारण जोखिम पुनः भित्रिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

अझैसम्म नेपालमा एक चौथाइले कोभिडविरुद्ध कुनै पनि खोप लिएका छैनन् । पूर्ण खोप लिएको धेरै समय भएका व्यक्तिले पनि प्रतिरोधक क्षमता कायम राख्न अतिरिक्त खोप लिन विज्ञहरूको सुझाव छ ।

दिनहुँ लगाइने खोपको संख्यामा समेत पछिल्ला दिन कमी देखिएको छ । वैशाख १ यताका पाँच दिनमा दिनहुँ सरदर २५ हजार गरी १ लाख २६ हजार ३ सय ४४ जनाले खोप लिएका छन् । सोमबारसम्म जनसंख्याको ७५।९ प्रतिशत अर्थात् २ करोड २१ लाख ५६ हजार १ सय ३१ जनाले एक मात्रा र ६६.४ प्रतिशत अर्थात् १ करोड ३८ लाख २ हजार १ सय ७६ जनाले पूर्ण खोप लगाएका छन् । अतिरिक्त खोप लगाउनेहरू जनसंख्याको ८.२६ प्रतिशत अर्थात् २४ लाख १३ हजार ५ सय ३२ जना मात्र छन् ।

राष्ट्रिय खोप समन्वय समितिका सदस्य डा. जीडी ठाकुर हाल करिब ७२ लाख नेपालीले एक मात्रा खोपसमेत नपाएको बताउँछन् । ‘खोप नलगाएकाहरूमा कोभिड संक्रमण गम्भीर हुने र मृत्युको सम्भावनासमेत रहने देखिसकिएकाले तुरुन्त सबै जनालाई खोप सुनिश्चित गर्नुपर्छ,’ उनले भने ।

मुलुकमा १२ वर्षमाथिकालाई खोप उपलब्ध छ । १२ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या ३४ लाख २५ हजार ४ सय ८ रहेकामा ९० प्रतिशतले एक मात्रा र ७६ प्रतिशतले पूर्ण खोप लिएका छन् । यस्तै, १८ वर्ष र त्यसभन्दा माथिका उमेरको जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेकामा ९४ प्रतिशतले एक मात्रा र ८३।२ प्रतिशतले पूर्ण खोप लिएको सरकारी तथ्यांक छ । ११ वर्ष र त्योभन्दा मुनिका बालबालिकाले भने अझैसम्म खोप पाएका छैनन् । सरकारले ५ देखि ११ वर्षका करिब ३५ लाखका लागि खोप ल्याउने निर्णय गरिसके पनि आउने टुंगो छैन ।

जसका कारण चौथो लहर सुरु भएको खण्डमा १२ वर्षमुनिका बालबालिका संक्रमणको बढी जोखिममा पर्ने खतरा रहेको विज्ञको भनाइ छ ।

भारतमा बढ्दो संक्रमण दरबाट आफूहरू चिन्तित भइरहेको स्वास्थ्य सचिव डा. रोशन पोखरेल बताए । ‘अब सीमामा पहिले जस्तै स्वास्थ्य परीक्षणमा कडाइ गर्नेछौं,’ उनले भने, ‘भारतमा देखिएका नयाँ संक्रमितमा स्वास्थ्य गम्भीरता छैन कि भन्ने देखिन्छ ।’

सोमबार ३ हजार ६ सय नमुनाको पीसीआर परीक्षण गर्दा ०.२५ प्रतिशत अर्थात् ९ जनामा संक्रमण देखियो भने १ हजार ९१ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ जना अर्थात् ०.०९ प्रतिशतमा संक्रमण देखिएको छ । हाल नेफालमा सक्रिय संत्रमितको संख्या ३ सय ५० रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भन्छन्, ‘हालसम्म संक्रमणको अवस्था समान्य छ । सीमा र विमानस्थलमा सोमबारको परीक्षणमा समेत शून्य संक्रमण देखिन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।