NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विदेशी नेतालाई किन गुजरात लैजान्छन् नरेन्द्र मोदी ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच बिहीबार अहमदाबादमा भेटवार्ता हुँदैछ ।

यसभन्दा अगाडि साताको सुरुमा मोदीले जामनगरमा विश्व स्वास्थ्य संगठनको ग्लोबल सेन्टर फर ट्रेडिशनल मेडिसिनको उद्घाटनमा मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदानोम गेब्रेयससलाई स्वागत गरिसकेका छन् ।

विगत हेर्ने हो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानी प्रधानमन्त्री सिन्जो आबे र चिनियाँ राष्ट्रपति सी जिनपिङलगायतका नेताहरूले पनि गुजरातको भ्रमण गरेका छन् ।

तर अहिले अवस्था फेरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी ले विश्वका धेरै देशका राष्ट्रप्रमुखलाई गुजरातमा आमन्त्रण गरेका छन् ।

सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि विश्वका अन्य राष्ट्र प्रमुखको गुजरात भ्रमण बढेको छ ।

त्यहाँभन्दा अघि धेरैजसो राष्ट्र प्रमुखहरू ताजमहल हेर्न, दिल्ली र आगरा मात्रै पुग्थे, कोही मुम्बई र चेन्नई पनि गएका थिए । तर गुजरातको अहमदाबाद अब कूटनीतिक बैठकको नयाँ केन्द्रको रूपमा देखा परेको छ ।

सन् २०१४ को सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नो भारतीय भ्रमणमा पहिले अहमदाबाद गएका थिए र त्यसपछि दिल्ली आए । सन् २०१७ मा जापानका प्रधानमन्त्री प्रधानमन्त्री शिन्जो आबे १३ र १४ सेप्टेम्बरमा अहमदाबाद पुगेका थिए ।

सन् २०१४ अघि अधिकांश देशका राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण दिल्लीमा मात्र सीमित थियो ।

सन् २०१८ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि अहमदाबादको भ्रमण गरे । त्यसपछि मात्रै उनी दिल्ली र मुम्बई गए । सन् २०२० को फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी श्रीमतीसँग दुई दिनका लागि भारत आउँदा उनी पनि सुरुमा अहमदाबाद, त्यसपछि आगरा र अन्तमा दिल्ली गएका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि बिहीबार अहमदाबाद आइपुगेका छन् । अहमदाबादमा केही कार्यक्रम र बैठकमा भाग लिएर उनी दिल्ली जानेछन् ।

सन् २०१४ अघि अधिकांश देशका राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण दिल्लीमा मात्र सीमित थियो । मुम्बई व्यापारिक राजधानी भएकाले कतिपय देशका राष्ट्रप्रमुख त्यहाँ पनि जाने गर्दथे । तर अपवादको रूपमा केही नेता मात्र चेन्नई र कोलकाता जान्थे । विभिन्न देशका शीर्ष नेताहरु प्रायः दिल्लीमै भेट्ने गर्दथे ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले पनि गुजरातबाटै भारत भ्रमण सुरु गरेका थिए । त्यतिबेला गुजरातमा ५० जापानी कम्पनीले व्यापार गरिरहेका कारण उनको गुजरात भ्रमणलाई विश्लेषकहरुले निकै महत्वपूर्ण मानेका थिए ।

तर अहिले अवस्था फेरिएको छ । नरेन्द्र मोदीले धेरै देशका राष्ट्रप्रमुखलाई गुजरातमा आमन्त्रण गरेका छन् । सन् २०२० मा डोनाल्ड ट्रम्प गुजरात आएपछि मोटेरा क्रिकेट स्टेडियममा नमस्ते ट्रम्प कार्यक्रम आयोजना गरिएको थियो । साथै रोड शो पनि गरिएको थियो ।

नरेन्द्र मोदी

जापानी प्रधानमन्त्री सिन्जो आबेले पनि गुजरातबाटै भारत भ्रमण सुरु गरेका थिए । त्यतिबेला गुजरातमा ५० जापानी कम्पनीले व्यापार गरिरहेका कारण उनको गुजरात भ्रमणलाई विश्लेषकहरुले निकै महत्वपूर्ण मानेका थिए ।

यसै क्रममा सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ श्रीमतीसहित अहमदाबाद पुग्दा साबरमती नदीको किनारमा लोक संगीतले स्वागत गरिएको थियो ।

यसबारेमा वरिष्ठ राजनीतिक विश्लेषक विनोद शर्मा भन्छन्, ‘पहिले यस्तो थिएन । भारतीय प्रधानमन्त्रीहरूले विदेशी राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई आफ्नो गृह राज्यमा निम्तो दिँदैनथे । तर, पछिल्लो समय अन्य धेरै नेताहरूले दिल्ली र देशका अन्य भागको भ्रमण गरेका छन् ।’

नेताले अर्को देशको भ्रमण गर्दा प्रायः सम्बन्धित देशको राजधानीमा मात्रै जान्छन्, कतिपय अवस्थामा अन्य सहरमा पनि जान्छन्। तर, प्रधानमन्त्री मोदीको पालामा विदेशी राष्ट्र प्रमुखको गुजरात भ्रमण नियमित रूपमा भइरहेको छ ।

अक्टुबर २०२१ मा, डेनमार्कका प्रधानमन्त्री म्याट फ्रेड्रिक्सनले दिल्लीको भ्रमण गरे, फेब्रुअरी २०२० मा म्यानमारका राष्ट्रपति यु विन मिन्टले दिल्ली र आगराको भ्रमण गरेका थिए । सन् २०१८ र २०१९ मा भारत भ्रमण गर्दा श्रीलंका, भुटान र पोर्चुगलका प्रधानमन्त्रीहरू पनि दिल्ली आएका थिए । इटालीका प्रधानमन्त्री पाउलो जेन्टिलोले अक्टोबर २०१७ मा दिल्लीको भ्रमण गरेका थिए ।

तर सन् २०१९ को अक्टुबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरिएको तमिलनाडुको ममल्लापुरमको भ्रमण गरेका थिए ।

किन पुग्छन् विदेशी नेता गुजरात ? 

गुजरातको मुख्यमन्त्री हुँदा नरेन्द्र मोदीले भाइब्रन्ट गुजरात शिखर सम्मेलनको आयोजना गरेका थिए । यो शिखर सम्मेलनले देश तथा विदेशका लगानीकर्ताहरुलाई आकर्षित गरेको थियो । बिजेपीले गुजरातलाई आफ्नो व्यापारिक मोडेल राज्यको रूपमा अघि बढायो ।

गुजरात चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष हेमन्त शाह भन्छन्, ‘विदेशी नेताहरू आउनाले उद्योगलाई धेरै फाइदा भएको छ । आज गुजरातले विश्वको नक्सामा महत्त्वपूर्ण स्थान ओगटेको छ ।’

‘भारतका अन्य प्रधानमन्त्री र गुजराती प्रधानमन्त्रीबीचको भिन्नता नरेन्द्र मोदीमा प्रस्ट देखिन्छ,’ गुजरात काउन्सिल अफ द एसोसिएटेड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पूर्व अध्यक्ष भाग्येश सोनेजी बताउँछन् ।

हेमन्त शाहले गुजरातबाट हुने फाइदाहरू उल्लेख गर्छन्, ‘कुनै विदेशी पाहुना गुजरात पुग्दा यस राज्यलाई बुझ्ने मौका पाउँछ । यसको फाइदा दीर्घकालीन हुन्छ । त्यसैको आधारमा उनीहरू लगानीको योजना बनाउँछन् । प्रधानमन्त्री गुजरातका हुन् । यसबाट गुजरातलाई फाइदा हुन्छ भने त्यो त राम्रो हो ।’

डोनाल्ड ट्रम्प, नेतान्याहु र सिन्जो आबे गुजरात आउँदा रोड शो आयोजना गरिएको थियो, यसको आलोचना पनि भएको थियो । तर, यस्ता घटनाबाट राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको केही विश्लेषकको भनाइ छ ।

नेताले अर्को देशको भ्रमण गर्दा प्रायः सम्बन्धित देशको राजधानीमा मात्रै जान्छन्, कतिपय अवस्थामा अन्य सहरमा पनि जान्छन्। तर, प्रधानमन्त्री मोदीको पालामा विदेशी राष्ट्र प्रमुखको गुजरात भ्रमण नियमित रूपमा भइरहेको छ ।

‘भारतका अन्य प्रधानमन्त्री र गुजराती प्रधानमन्त्रीबीचको भिन्नता नरेन्द्र मोदीमा प्रस्ट देखिन्छ,’ गुजरात काउन्सिल अफ द एसोसिएटेड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पूर्व अध्यक्ष भाग्येश सोनेजी बताउँछन् ।

वास्तवमा मोदी गुजरातलाई अन्य राज्यभन्दा अगाडि भएको हेर्न चाहन्छन् । नरेन्द्र मोदीले गुजरातलाई प्रवर्द्धन गर्ने कुनै पनि अवसर गुमाउन चाहँदैनन् । उनी गुजरातलाई राष्ट्रिय स्तरमा नमुनाका रूपमा स्थापित गर्न चाहन्छन् । यही कारण प्रत्येक विदेशी नेतालाई गुजरात पुर्याउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष