NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

पुटिनले लिएर हिँड्ने ‘आणविक ब्रिफकेस’ के हाे ?

मस्को । पछिल्ला केही दिनदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग देखिएको ब्रिफकेसको चर्चा भइरहेको छ । वास्तवमा, यो सामान्य ब्रिफकेस होइन, पुटिनको आणविक आक्रमणका लागि आदेश दिने प्रणाली भएकाे आणविक ब्रिफकेस हो ।

युक्रेनसँग युद्ध सुरु भएपछि पुटिनले आफ्ना आणविक हतियारहरूलाई अलर्ट मोडमा राखेका थिए । यस्तो अवस्थामा अहिले पुटिन आणविक ब्रिफकेससहित देखिएपछि पुटिनले युक्रेनमा आणविक हमला गर्छन् वा गर्दैनन् भन्ने शंका सुरु भएको छ ।

सामान्यतया रुसी राष्ट्रपति पुटिन आफू जहाँ जाँदा पनि आणविक ब्रिफकेस बोक्छन् । तर भर्खरै युक्रेनमा भएको हमलापछि पुटिन केही सार्वजनिक कार्यक्रममा यो आणविक ब्रिफकेस लिएर आएपछि पुटिनले युक्रेनमा आणविक हमला गर्ने योजना बनाएको हो कि होइन भन्ने चर्चा सुरु भयो ।

युक्रेन युद्ध सुरु भएपछि पुटिनसँग आणविक ब्रीफकेस पहिलोपटक अप्रिल पहिलो साता देखा पर्‍यो । उनी भ्लादिमिर जिरिनोव्स्कीको अन्त्येष्टिमा सहभागी हुन मस्कोको एउटा चर्चमा पुग्दा उनको साथमा त्यो ब्रिफकेस देखिएको थियो ।

दोस्रोपटक बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको भेटमा पनि पुटिनसँग उक्त ब्रिफकेस देखिएको थियो । यी दुवै कार्यक्रममा आणविक ब्रिफकेस पुटिनका अंगरक्षकमध्ये एकले समातेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टलाई मान्ने हो भने पुटिन आफ्नो सम्भावित हत्याको प्रयासबाट जोगिन र सुरक्षालाई बलियो बनाउन उक्त ब्रिफकेस बोकेर हिँडेका हुन् । साथै पुटिनले कोरोना भाइरसविरुद्धको ८ डोज खोप लगाएका कारण उनलाई कोरोना संक्रमण भएको र थाइराइड क्यान्सर पनि भएको अनुमान गरिएको छ ।

पुटिनको आणविक ब्रिफकेस हेर्दा सामान्य ब्रिफकेसजस्तो देखिन्छ । तर यो सामान्य ब्रिफकेस होइन, यो आणविक ब्रिफकेसमार्फत पुटिनले आणविक आक्रमणको आदेश दिन सक्छन् । यसमा आणविक आक्रमण र अलर्ट अलार्म अर्थात् आणविक आक्रमण कमाण्ड प्रणालीसँग सम्बन्धित कागजातहरू छन् ।

रूसी भाषामा यसलाई चेगेट भनिन्छ । यो ब्रिफकेसको नाम रुसको काबार्डिनो बल्कारिया क्षेत्रमा रहेको पहाडको नामबाट राखिएको हो । यो ब्रिफकेस पहिलोपटक सन् १९८० को दशकमा सोभियत संघका शीर्ष नेता युरी एन्ड्रोपोभको छोटो शासनकालमा अस्तित्वमा आएको थियो ।

पछि सन् १९८५ मा सोभियत राष्ट्रपति मिखाइल गोर्बाचेभको शासनमा सक्रिय सेवामा राखिएपछि अहिलेसम्म निरन्तर प्रयोगमा छ । यो आणविक ब्रिफकेस पुटिनलाई सन् १९९९ को डिसेम्बरमा हस्तान्तरण गरिएको थियो र उनी त्यसबेलादेखि प्रयोग गर्दै आएका छन् ।

आणविक ब्रिफकेसले रूसमा राष्ट्रपतिको शक्ति स्पष्ट देखाउँछ । यस ब्रिफकेस भित्र एक इलेक्ट्रोनिक प्रणाली छ । यसको भित्र पछाडि सानो कालो स्क्रिन र अगाडि धेरै बटनहरू छन् ।

यी अधिकांश बटनहरू सेतो छन् र बीचमा एउटा बटन रातो छ । सेतो बटन थिच्दा परमाणु आक्रमणको कमाण्ड सिस्टम सक्रिय हुने बताइन्छ । यो आणविक ब्रिफकेस गोप्य कोडले खुल्छ र त्यसको कोड पुटिनलाई मात्र थाहा भएकाे बताइन्छ ।

रुससँग यस्ता तीनवटा ब्रिफकेस छन् । राष्ट्रपतिबाहेक अर्को रक्षामन्त्री र तेस्रो सेना प्रमुखसँग रहेको विश्वास गरिन्छ । यस ब्रिफकेसमार्फत राष्ट्रपति पुटिनले मात्रै आणविक आक्रमणको आदेश दिन सक्छन् । यसको माध्यमबाट रुसका ६ हजारभन्दा बढी आणविक बम नियन्त्रण गरिन्छ, त्यसैले यो २४ सै घण्टा कडा निगरानीमा रहन्छ ।

रुसी राष्ट्रपतिजस्तै अमेरिकी राष्ट्रपतिले पनि आणविक आक्रमणको आदेश दिने आणविक ब्रिफकेस बोक्छन् । अमेरिकी राष्ट्रपतिले पनि ब्रिफकेस आफूसँगै लैजान्छन् । अमेरिकामा यसलाई आणविक फुटबल भनिन्छ ।