NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

दुर्घटनामा तीन चिनियाँ नागरिकको मृत्यु

मकवानपुर । जिल्लाको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको सनाखत हुनसकेको छैन । उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।

यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । फास्टट्रयाकमा काम गरिरहेको लोडर एक्कासि सिमातखोलामा खसेको थियो ।