काठमाडौंकाे तारकेश्वरमा ४० मतदान केन्द्र
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौंको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ ।
१४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिए । तारकेश्वरमा ५७ पदका लागि २७२ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये नगरप्रमुखमा १६ र उपप्रमुखमा छ जनाले उम्मेदवारी दिएको जनाइएको छ ।
उक्त नगरपालिकामा विभिन्न १० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको उनले बताए ।
यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उनको भनाइ छ ।
काठमाडौं जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेका साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर बनाइएको तारकेश्वरमा ११ वडा कार्यालय छन् । तारकेश्वरमा कूल ३५ हजार ८२ मतदाता छन् ।
तारकेश्वरमा नेपाली कांग्रेसबाट प्रमुखमा कृष्णहरि महर्जन र उपप्रमुखमा सिर्जना बुर्लाकोटी, नेकपा (एमाले)बाट प्रमुखमा रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेल उम्मेदवार छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया