NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भरतपुरमा बेचैनी

चितवन । भरतपुर महानगरपालिकामा चुनावी प्रचारप्रसार सकिँदै गर्दा चुनावी परिणामको आकलनले उम्मेदवारहरूको बेचैनी बढाएको छ । गठबन्धनको सम्पूर्ण राज्यशक्ति र संयन्त्र परिचालन तथा प्रमुख विपक्षीको आक्रामक चुनावी अभियानका कारण प्रत्याशीहरू परिणामप्रति ढुक्क देखिन सकेका छैनन् ।

भरतपुरमा प्रमुखका लागि दर्ता भएका ३० मध्ये २६ उम्मेदवार प्रतिस्पर्धामा रहे पनि तीन प्रत्याशी मुख्य रूपले अग्रचर्चामा छन्– गठबन्धनका तर्फबाट रेनु दाहाल, एमालेबाट विजय सुवेदी र कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उभिएका जगन्नाथ पौडेल । चुनावी अभियानका दौरान चितवनमा भएका एकपछि अर्का घटनाक्रमले मतदाताको ‘मुड’ पनि अधिर बनाइदिएको छ ।

दाहाल, सुवेदी र पौडेल तीनै जनाले सबै वडामा पुगेर पाएको प्रतिक्रियाका आधारमा परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका छन् तर उनीहरूको थकित अनुहारमा बोलीअनुसारको निश्चिन्त भाव देखिन्न । ‘आज घरदैलो सकें, अब बाँकी दिनको रणनीति तय गर्नु छ,’ एमाले उम्मेदवार सुवेदी भन्छन्, ‘परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क छु ।’

आफ्नो दलको अवस्था झनै सुध्रेकाले पनि परिणाम राम्रो आउने तर्क गर्छन् उनी । ‘यसपाला त झन् राप्रपाको पनि साथ छ,’ उनले भने, ‘मतदाता पनि नयाँको खोजीमा छन् ।’ अघिल्लो पटक एमाले एक्लै चुनाव लड्दा गठबन्धनसँग २ सय ३ मतको अन्तरले हारेको र अहिले त्यो अन्तर सजिलै पूर्ति हुने सुवेदीले बताए ।

गठबन्धनकी उम्मेदवार रेनु आफू विजयको बिन्दुमा पुगेको बताउँछिन् । ‘अहिले सबैतिर माहोल राम्रो छ,’ उनी भन्छिन्, ‘म जितको संघारमा छु ।’ आफूले पाँच वर्षमा धेरै विकास गरेको र त्यो महानगरवासीलाई मन परेको उनको जिकिर छ । ‘मलाई प्रचण्डकी छोरी भनेर मात्र हेर्नु भएन, मैले उहाँकी छोरी होइन, कार्यकर्ता भएर काम गरेकी छु,’ उनी भन्छिन्, ‘चितवनका मतदाताले यो बुझ्नुभएको छ ।’ उनले यसो भने पनि उनको अनुहारको हाउभाउमा बेचैनी पहिलेभन्दा बढेकै देखिन्छ ।

शतप्रतिशत जित्ने दाबी गरेकी उनले कदाचित हार भए त्यसलाई स्वीकार गर्लिन् ? कि पहिलेजस्तै मतपत्र च्यातिएला ? रेनुलाई सार्वजनिक मञ्चहरूमा अक्सर यी दुई प्रश्नले पछ्याउन छाड्दैनन् ।

‘मतपत्र च्यात्ने काम एक दुर्घटना थियो, अब त्यस्तो हुन हुँदैन,’ उनको जवाफ छ, ‘हारेछु भने त्यसलाई स्वीकार गर्छु, संविधानसभा चुनावमा हारेकै थिएँ ।’

स्वतन्त्र उम्मेदवार पौडेल पनि आफू विजयको बिन्दुमा पुगिसकेको दाबी गर्छन् । ‘स्वस्फूर्त समर्थन ज्यादै पाएको छु,’ उनले भने, ‘मेरा प्रत्याशी रेनुका पिताले दिएको धम्कीपछि मलाई ज्यादै फाइदा पुगेको छ ।’ भरतपुरमा २२ गते गठबन्धनको आमसभामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले रेनुलाई नजिताए देश दुर्घटनामा पर्ने धम्की दिएका थिए ।

२०४९ मा भरतपुर उपप्रमुख चुनिएका र २०५४ मा राष्ट्रिय सभामा मनोनीत भएका पौडेलका पक्षमा राजावादीको नवसंगठन रोयल टाइगर फोर्सका युवाले केही दिनयता आफ्नो दलको नाम लेखेको टिसर्ट लगाएर मत मागिरहेका छन् । कांग्रेसका तीन सयजति युवा स्वयंसेवकका रूपमा आफ्ना लागि मत माग्न निस्केपछि थप आशावादी भएको उनले सुनाए । पौडेल सोचेभन्दा धेरै समर्थन मिलेको दाबी गर्छन् । तर, कैयौं दिनदेखि निदाउने फुर्सद नपाएका उनको अनुहारमा पनि उही बेचैनी देखिन्छ । कान्तिपुर दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष