NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते
ऊबेलाको कुरा

फकाउन धानको भात खुवाउँथे, तोकिएको ठाउँमा उभिएपछि भोट मानिन्थ्यो

धनकुटा — सिकुवामा बसेका परपर हेरिरहेका ओमनारायण श्रेष्ठले कार्यकर्ताको हूल बोकेर घर आइपुगेका उम्मेदवार देखेपछि आँखा चम्किलो पारे । प्रसन्न मुद्रामा थरथर काँप्दै गरेका हात उम्मेदवारको टाउकोमा राखेर आशीर्वाद दिए । सय वर्ष कटिसकेका यी वृद्ध बाको आशीर्वाद थाप्न टाढाटाढाबाट उनको घर ताकेर उम्मेदवारको लर्को लाग्यो ।

नागरिकतामा १०१ वर्ष लेखिए पनि धनकुटाको महालक्ष्मी नगरपालिका–७ मारेक टोलका श्रेष्ठ परिवारका अनुसार ओमनारायण १०६ वर्षका भए । उनका हजुरबा मरेक कटहरे गाउँबाट बसाइँ सरेर आएकाले ओमनारायणको परिचय गाउँटोलमा ‘मारेक बा’ का रूपमा छ ।

चुनावको चहलपहल देख्दा मारेक बालाई २०१५ सालको संसदीय निर्वाचनयताका धमिलो दृश्य सम्झनामा आउँछन् । त्यतिबेला उनी गाउँबाट एक घण्टाको दूरी हिँडेर मतदान गर्न पुगेका थिए । ‘चौतारोमा मतदान स्थल राखिएको थियो,’ उनले मधुरो स्वरमा सुनाए, ‘त्यतिबेला सँगै मतदान गरेकाहरू सबै दिवंगत भइसके ।’

गाउँटोलमा सबैले चिन्ने भएकाले त्यतिबेला आफूलाई मतदानस्थलमा कसैले नरोकेको र कुनै परिचयपत्र नमागेको सम्झना पनि उनीसँग छ । ‘मतदानस्थलमा धेरैजसो पुरुषमात्रै थिए, महिला त निकै कम,’ उनी सम्झन्छन्, ‘महिलाहरू घरधन्दाको काममा व्यस्त हुने भएकाले त्यस्तो भएको हो कि ।’

उतिबेला अहिलेजस्तो मतदान गोप्य नहुने र मतदानस्थलमा कडा सुरक्षा पनि नरहेको उनले सुनाए । ‘मतपेटिका पनि थिएन । आफूले चुन्ने उम्मेदवारका लागि छुट्याइएको ठाउँमा उभिने र त्यसैका आधारमा जितहार छुट्याउने काम हुन्थ्यो,’ उनले भने ।

उम्मेदवारहरूले पैसा र भोज खुवाएर मतदातालाई प्रभावित पार्ने गरेका खबर उनले पनि सुनेका छन् । २०१५ सालको चुनावताका यस्तो प्रवृत्ति थिएन । ‘पैसै दिएर मतदाता प्रभावित गराउने चलन त थिएन, पेटभरि धानको भात खुवाएर भने फकाउँथे,’ उनी भन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।