टीकापुरमा बालबालिकाको पोषणका लागि बालभिटा खुवाइँदै

टिकापुर । कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि ६ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्यांकमा उल्लेख छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ ।
बालबालिकाको पोषणमा ध्यान दिन कैलाली जिल्लाभरि यस वर्ष बालभिटा खुवाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । गत असोजदेखि कैलालीको टीकापुर नगरपालिकाले ६ महिना पुगिसकेका बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालेको हो ।
“बालबालिकालाई ६ महिनादेखि दुई वर्षसम्म बालभिटा खुवाइने भएपछि बच्चाका आमाहरूले बालभिटालाई बच्चाको खानामा मिसाएर खुवाउने गरेका छन्”, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका चन्द्रावती शर्माले बालभिटाले “बच्चालाई स्वस्थ रहन सघाएको बताईन। बच्चाले पनि बालभिटा रुचाएर खाने गरेका आमाहरू बताउँछन् ।”
टीकापुरकी पुष्पा देवकोटाले पनि आफ्नो बच्चालाई नियमित बालभिटा खुवाइरहेको बताइन। बालभिटा १५ प्रकारका भिटामिन तथा खनिजतत्वको मिश्रण हो । यो सानो प्याकेटमा पाइन्छ । बालभिटा खानामा मिसाएर खुवाइन्छ । ६ महिना पूरा भएदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउनुपर्छ ।
बालभिटा घरमा तयार पारिएका खानेकुरा जाउलो, लिटो, मिचिएको दाल, भातमा सजिलैसँग मिसाएर खुवाउन सकिने भएकाले बालबालिका पनि रुचाएर खाने गरेको आमाहरू बताउँछन् । “पालिकाले बच्चाको नियमित वृद्धि अनुगमन, स्वस्थ बच्चाबीच प्रतिस्पर्धाजस्ता कार्यक्रम पनि गरिरहेको छ । बालभिटामा आइरनलगायत खनिजतत्व उपलब्ध हुने भएकाले रक्तअल्पता हुनबाट जोगाउने स्वास्थ्यकर्मी बताउँछन् ।
६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई हरेक छ महिनाको अन्तरालमा दैनिक एक प्याकेटको दरले ६० प्याकेट बहु सुक्ष्म पोषकतत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनुपर्ने टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धक उपशाखाका सिनियर अहेव कमलबहादुर रावल बताउँछन् ।
“बालभिटा खुवाउँदा बच्चाको दिमागको विकास, शरीरको वृद्धि विकास, रोगसँग लड्ने क्षमताको विकास, खाना खाने रुचिमा वृद्धि, रक्तअल्पता तथा अन्य सुक्ष्म पोषकतत्वको कमीले हुने विकृति कुपोषणबाट जोगाउँछ । “बालबालिकालाई चनाखो र दरिलो बनाउन सघाउने भएकाले एक दिनमा एउटा बच्चालाई एक प्याकेट बालभिटा खुवाउनुपर्ने मापदण्डअनुसार आमाहरूलाई खुवाउन भनेका छौँ । राम्रो प्रतिक्रिया आएको छ ।” रावलले बताए
बालभिटा समुदायमा महिला स्वास्थ्य स्वयंसेविकामार्फत वितरण गर्ने गरिएको छ । यसका साथै पालिकाले स्वस्थ बच्चा प्रतिस्पर्धामा उत्कृष्ट हुने बच्चा र आमालाई पुरस्कृत गर्ने गरेको छ । कुपोषित बालबालिकाको उपचारका लागि सबै स्वास्थ्य संस्थामा आकस्मिककक्ष स्थापना गरिएका छन् । “समुदायमा रहेका कुपोषित र कुपोषणको जोखिममा रहेका बालबालिकालाई स्वास्थ्य संस्थामा प्रेषित गर्छौँ”, स्वयंसेविका सुशीला ढुंगानाले बताइन ।
प्रतिक्रिया