NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १० गते

एमालेको गढ भत्काएर उपमहागरको मेयर जित्ने को हुन् राजन ?

काठामाडौं । स्थानीय तह निर्वाचनमा ११ उपमहानगरपालिकामध्ये बाराको जितपुर सिमरामा माओवादी केन्द्रले पहिलो खाता खोलेको छ । गएराति सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार माओवादी उम्मेदवार राजन पौडेल मेयरमा निर्वाचित भएका छन् । पौडेलले १८ हजार ७ सय ४३ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा नेपाली कांग्रेसका मेघा शाहीलाई पराजित गरी नेकपा एमालेका उम्मेदवार भोला अधिकारी विजयी भएका छन् । अधिकारीले १७ हजार ४९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शाहीले १५ हजार ८४२ मत पाइन् ।

राजन दोस्रो परिक्षामा पास

२०७४ को निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धन भएपनि जितपुर सिमरामा कांग्रेस र माओवादी केन्द्रले एक्ला एक्लै चुनाव लडेका थिए । यो उपमहानगरमा पौडलेले नै उम्मेदवारी दिएका थिए । गत निर्वाचनमा राजनलाई एमालेका कृष्णप्रसाद पौडेलले पराजित गरेका थिए । कृष्णले १४ हजार ८६५ मत प्राप्त गर्दा राजनले ११ हजार २५१ मतसहित तेस्रो स्थानमा खुम्चिएका थिए । दोस्रोमा कांग्रेसका कृष्णवर्त सिंहले ११ हजार ९९५ मत पाएका थिए । त्यसबेला ११ उपमहानगरपालिकामा माओवादी केन्द्र निल भएको थियो ।

योपटक सत्तागठबन्धनले ६ महानगरसहित ११ उपमहानगरमा भागबण्डा गरेर एमालेसँग चुनावी प्रतिस्पर्धा गरेका थिए । भागबण्डा अनुसार जितपुर सिमराको प्रमुख माओवादीले लिएको थियो । उपप्रमुख कांग्रेसको भागमा परेको थियो । गत निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाएका राजनले योपटक गठबन्धनको सहयोगमा एमालेलार्ई ९७२ को मतान्तरले हराएर उपमहानगरमा इतिहास रचेका छन् ।

यस्तो छ राजनको जीवनी

०३५ सालमा धादिङमा जन्मिएका राजन ०४४ सालमा सिमरा बसाईं सरेका थिए । जितपुर सिमरा–३ स्थित बझानीका स्थायी बासिन्दा हुन्, उनी । सिमरामा लोकप्रिय नेताको रूपमा चिनिन्छन् । गत निर्वाचनमा पराजय भोगेपछि उनी ५ वर्षमा संगठन विस्तार र पार्टीको काममा सक्रिय रहे । उनको यही सक्रियता र गठबन्धनको सहयोगमा इतिहास उनी सफल भए । ०५२ मा एसएलसी प्रथम श्रेणीमा पास गरेका उनले ग्रामीण विकास र समाजशास्त्रमा स्नातक गरेका छन् ।

०५६ मा माओवादीको विद्यार्थी राजनीतिमा प्रवेश गरेका राजन ०५७ मा माओवादीका पूर्णकालीन सदस्य भएका थिए । ०५८ मा उनलाई काठमाडौंबाट सुरक्षाकर्मीले पक्राउ गरेको थियो । जेलभित्रको कठिन यातना सहन नसकी उनी सरकारविरुद्ध झण्डै तीन महिन आमरण अनसन बसेका थिए । १९ दिने जनआन्दोलन सफल भएपछि ०६३ जेठ १० मा जेलमुक्त भएका थिए । उनी अहिले मओवादी केन्द्रको मधेस प्रदेश कमिटी सदस्य रहेका छन् ।