विजय जुलुसलाई स्वागत गर्न बन्दुक पड्काउँदा तीन घाइते

काठमाडौं । स्थानीय निर्वाचनको नतिजा सार्वजनिक भएसँगै निर्वाचित जनप्रतिनिधिहरू यतिबेला विजय जुलुसमा व्यस्त छन् । सोही क्रममा रौतहटमा विजय जुलुस स्वागत गर्न बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर तीनजना घाइते भएका छन् ।
रौतहटस्थित गरुडा नगरपालिका १ मा लोकतान्त्रिक समाजवादी पार्टी साइकल छापबाट वडा अध्यक्षमा निर्वाचित शेख वहावको विजय जुलुसमा सो घटना घटेको हो । सरकारलाई विभिन्न सुरक्षा निकायले दिएको प्रतिवेदनअनुसार वहावको ऐ.१स्थित जयनगरमा निकालेको विजय जुलुसलाई स्वागत गर्न ४२ वर्षिया जयमंगल महतोले आफ्नो घर अगाडि हातमा १२ बोरको बन्दुक बोकेर बसेका थिए ।
स्वागतमा बन्दुक पड्काउँदा अन्दाजी १० वर्षिय मजसिर शेखसहित तीनजनालाई गोलीको छर्रा लागि घाइते भएका छन् । हाल उनीहरुको रौतहटस्थित स्थानीय संजिवनी अस्पतालमा उपचार भइरहेको छ ।
बन्दुक पड्काउने जयमंगल महतोलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ भने उक्त हतियार जिल्ला प्रशासन कार्यालय रौतहटबाट प्राप्त रेकर्डमा नदेखिएकाले थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया