NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

स्वास्थ्यका ७ कर्मचारी विनानिम्तो गए डब्लुएचओको सम्मेलनका नाममा जेनेभा

काठमाडौं । डलर अभावले आर्थिक संकटमा फस्नबाट जोगिन सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिएर खर्च कटौतीको प्रयास गरेको छ । तर, कर्मचारी भने उक्त संकटको प्रवाह नगरी कामविना नै विदेश सयरमा निस्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका १० कर्मचारीको टोली विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को साधारणसभामा भाग लिन भन्दै स्विट्जरल्यान्डको जेनेभा गएको हो । स्वास्थ्यमन्त्रीसहित तीनजनाका लागि मात्रै औपचारिक निम्ता भए पनि मन्त्रालयका उच्चपदस्थ कर्मचारीदेखि मन्त्रीका स्वकीय सचिवसमेत थप सातजना जेनेभा गएका हुन् । डब्लुएचओको ७५औँ साधारणसभा आइतबारदेखि शनिबारसम्म सात दिन जेनेभामा हुँदै छ ।

सम्मेलनका लागि डब्लुएचओले स्वास्थ्यमन्त्री, स्वास्थ्यसचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकको नाम र टिकट मात्रै पठाएको छ । स्वास्थ्यसचिव डा. रोशन पोखरेलले निम्ताबाहेकका कर्मचारी पनि टोलीमा रहेको स्विकारे । तर, उक्त निर्णय स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरेको उनको दाबी छ । को–को कहाँबाट, कसको खर्चमा आएको भन्नेमा आफू जानकार नभएको पनि उनले बताए । ‘मसहित मन्त्री र विभागका महानिर्देशकको खर्च सरकारले व्यहोर्छ । बाँकी को–को कहाँको खर्चमा हिँडेका हुन् मलाई जानकारी छैन । उनीहरूको खर्च राज्यले लगाएको छैन,’ उनले भने, ‘उनीहरूको भ्रमणबारे मन्त्रीले निर्णय गरेकाले मलाई धेरै थाहा छैन ।’

स्वास्थ्यमन्त्री, स्वास्थ्यसचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकबाहेक विभागको समन्वय महाशाखा प्रमुख डा. संगीता मिश्रा, प्रशासन शाखा प्रमुख मदन भुजेल, गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्याय, योजना महाशाखाका उपसचिव प्रकाश अधिकारी भ्रमण टोलीमा छन् । त्यस्तै, निक सिमोन्स इन्स्टिच्युट (एनएसआई)का वरिष्ठ कार्यक्रम प्रबन्धक कासिम साह, मन्त्रीका निजी सचिव मधु मिजार र स्वकीय सचिव सुरज थापा पनि टोलीमा छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार उक्त भ्रमणमा एकजनाको दैनिक खर्च दुई सयदेखि दुई सय ५० डलर हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।