NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ८ गते

फेरि बाहिरियो विद्यालयमै बलात्कार भएको सात वर्षअघिको घटना

काठमाडौं । आठ वर्षअघि युवतीलाई बलात्कार गरेको आरोपमा मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । याे घटना सेलाउन नपाउँदै सामाजिक सञ्जालमार्फत अर्काे यस्तै क्रुर घटना बाहिरिएको छ ।

रेजिना नाम गरेको फेसबुक अकाउन्टबाट एकजना पीडित युवतीले आफूमाथि पनि सात वर्षअघि विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेकाे दावी गर्दै घटना सार्वजनिक गरेकी छिन् ।

उनले सुरुमा आफूले इन्स्टाग्राममा पोष्ट गरेको सामग्री इन्स्टाग्रामले हटाएपछि फेसबुकमा रेजिनाको आवाज भन्दै यस्तो लेखेकी छन्,

‘मसँग बाहिर आउने हिम्मत थिएन किनभने यो घटना सात वर्षअघि घटेको हो । तर, अहिले सुस्मिताको लागि उर्लिएको जनसागर देखेर म यहाँ आशाका साथ उभिएकी छु । अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ ।

घटना त्यस्तै २०७२/७३ तिरको हो । म इटहरीस्थित ब्लुमिङ लोटस इंग्लिस सेकेण्डरी स्कुलमा पढ्थें । मलाई त्यहाँका प्रधानाध्यापकले पटक पटक बलात्कार गरे । बलात्कारी थिए राज खड्का । म त्यतिबेला विद्यालयकै होस्टेलमा बस्थें र यो सबै घटना हुँदा म कक्षा ९ मा अध्ययनरत थिएँ । त्यतिबेला मेरो छातीमा समस्या देखिएकाले मेरो बुबाले तिनै प्रधानाध्यापकको बैंक खातामा मेरा उपचारका लागि पैसा पठाइदिनुभयो ।

(बुबाले मेरो आमाको खातामा पैसा पठाउन छोडेर किन उसकोमा उठाउनुभयो भन्ने विषयमा अहिले आउँछु ।)

त्यसपछि उसले मलाई उपचारका लागि विद्यालयबाट सिधै अस्पताल जान भन्यो । तर, अस्पताल लैजानुको साटो होटलमा लग्यो । उसले मलाई खानेकुरा अफर गर्यो तर मैले खाइनँ । किनभने मलाई डर लागिरहेको थियो, म असिनपसिन भएकी थिएँ । म असिनपसिन भएको देखेर होटलको कोठामा आउ भन्दै उसले भने, ‘यता आउ गर्मी हुँदैन’ । त्यतिबेला म १५ वर्षकी थिएँ ।

कोठाभित्र लगेसँगै उनले मलाई खानेकुरा दियो, तैपनि मैले खाइनँ । त्यसपछि उनले मेरो स्कुलको सर्ट च्यातेर ममाथि बलात्कार गर्यो ।
उसले त्यसको भिडियो पनि बनायो र जतिबेला पनि मलाई त्यही भिडियो देखाएर ब्लाकमेल गर्ने प्रयास गर्यो । यो श्रंखला दुई वर्षसम्म चल्यो । उसले मलाई जता भेट्यो त्यहीँ बलात्कार गर्थ्याे। विद्यालयको बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टलको कोठा, जताततै । उसले मलाई बिदामा पनि घर जान दिन्थेन । म घर गएँ भने मेरो पढाइ बिग्रिन्छ भनेर उसले मेरा आमाबुबालाई फकाएको थियो । त्यसकारण म होस्टलमै बस्नु उचित हुने भनेर भन्थ्यो ।

त्यतिबेला मेरो बुबाले किन उसको खातामा पैसा पठाउनुभयो भन्ने कारण यस्तो छ । उसले मेरा अभिभावकलाई यसरी मेनिपुलेट गरेको थियो कि, घर नजानु नै मेरो लागि राम्रो उपाय हो । आमाबुबाले पनि होस्टलमै बसेर छोरीले खुब राम्रो पढिरहेकी छ भन्ने सोच्नुहुन्थ्यो । मलाई उसले घर जान नदिनु, मेरा आमाबुबाले उसको कुरा पत्याउनु, मेरी आमा विद्यालयमा पाँच मिनेट दूरीमा हुँदा पनि आफूसँग नभएर त्यो प्रिन्सिपलसँग मलाई अस्पताल पठाउने कुरा सुन्दा सबै फिल्मी लाग्छ । तर, यो मेरो जीवनमा घटेको वास्तविक घटना हो ।

मैले यो सबै कुरा मेरा साथीहरुलाई भनें । तर, मलाई कसैले पत्याएन । किनभने म बच्चैबाट बोल्ने प्रवृत्तिको थिएँ । सबैले मेरो चरित्रलाई दोष दिए, म पीडित हो भनेर कसैले मलाई विश्वास गरेनन्, काेही मेराे पक्षमा भएनन् । यो सबै लडाइँमा म एक्लै थिएँ । मैले यो कुुराबारे उसको श्रीमतीलाई पनि भनें । (त्यतिबेला उनीहरुको एउटा छोरा थियो), तर उनले पनि मेरा लागि बोलिनन् । मैले विद्यालयमा हुँदा दुई वर्षको अन्तरालमा तीन पटकसम्म आत्महत्याको प्रयास गरें । तर, मलाई केही भएन । न मर्न नै सकें न त मेरो समस्या समाधान भयो ।

एसइइ परीक्षा सकेपछि मैले यो सबै कुरा मेरा परिवारलाई भनें तर पनि मैले न्याय पाइनँ । त्यो बलात्कारी भाग्यो र अहिलेसम्म पनि मेरो केस चलि नै रहेको छ । म फलोअपका लागि जाँदा प्रहरीले बलात्कारी खोजीरहेको बताउँछ तर कहाँ छ बलात्कारी ? मैले अब त न्याय पाउने आश पनि मारिसकें र प्रहरीकोमा जान पनि छोडिसकें । तर, पटक पटक यो घटनाले मलाइ सताउन छोडेको छैन । सामाजिक सञ्जालमा सुस्मिताको न्यायको लागि आवाज उठेको सुन्दा, म एक कमजोर केटी आफ्नो विगत सम्झेर रातभर रोएँ ।

त्यो बलात्कारी काठमाडौंमा रहेको र एक विद्यालयमा प्रधानाध्यापककै रुपमा कार्यरत रहेको सुनेको छु । न्याय पाउने आशमा आज ७ वर्षदेखि मसँग मात्रै सिमित राखेको मेरो कथा यहाँ भन्दै छु ।