रवीन्द्र मिश्रले चाँडै भेटौँ भनेका छन् : मिलन पाण्डे

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सोचेजस्तो नतिजा नआएको भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरेका छन् । यसले सो पार्टीमा तरंग पैदा भएको छ ।
विवेकशील साझाका अध्यक्ष मिश्रले दिए राजीनामा – NepalWatch
यो तरंग मिश्रले अनुशासनको कारबाही गर्दै पार्टीको साधारण सदस्समेत नरहनेगरी निष्कासन गरेका पूर्वसंयोजक मिलन पाण्डेसम्म पुगेको छ ।
मिलन पाण्डे विवेकशील साझाबाट निष्काशित – NepalWatch
मिश्रको राजीनामापछि उनी र आफूबीच कुराकानी भएको पाण्डेले नेपालवाचलाई बताए ।
‘मिश्रजीसँग मेरो राजनीतिक सम्बन्ध नभए पनि व्यक्तिगत सम्बन्ध बाँकी थियो । उहाँले राजीनामा दिएपछि हामी दुईबीच सामान्य छलफल भयो,’ उनले भने, ‘चाँडै भेट्ने कुरा भएको छ ।’
पार्टीमा सैद्धान्तिक विवाद भएपछि गत पुसामा पाण्डे, रञ्जु दर्शनालगायतलाई अध्यक्ष मिश्रले कारबाही गरेका थिए ।
तर, अध्यक्ष मिश्रले आज राजीनामा दिँदा जारी गरेको विज्ञप्तिमा पाण्डेलगायतलाई गरिएको कारबाही फिर्ता हुने बताएका छन् ।
‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु । त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु ।’
मिश्रले कारबाही फिर्ता लिने संकेत गरेपछि पाण्डे पनि उनीप्रति नरम भएको बुझिएको छ ।
प्रतिक्रिया