NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सरकारलाई थाहै नदिई त्रिभुवन पार्क एनजिओले लगायो भाडामा

काठमाडौं । सरकारी स्वामित्वको थानकोटस्थित त्रिभुवन पार्कको ५० रोपनी जग्गा गैरकानुनी रूपमा निजी कम्पनीलाई व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएको खुलेको छ । पार्कको रेखदेख गरिरहेको सहिद स्मारक प्रकृति प्रतिष्ठानले सरकारलाई थाहै नदिई प्रतिरोपनी नौ हजारका दरले एक्सेलसियर इन्फर्मेसन टेक्नोलोजी एन्ड ट्रेड कन्सर्न प्रालिलाई २० वर्षका लागि भाडामा लगाएको हो ।

त्रिभुवन पार्क संघीय सरकारमातहत हुँदै २९ मंसिर ०७३ मा प्रतिष्ठान र प्रालिबीच लिज सम्झौता भएको भेटिएको छ । ०७५ चैतमा संघीय मन्त्रिपरिषद्ले पार्क बागमती प्रदेश सरकारमातहत रहने र प्रदेशले नै व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

आफूमातहत आएको सार्वजनिक सम्पत्ति दुरुपयोग भएको सूचना प्राप्त भएपछि अनुगमन गर्दा अवैध रूपमा भाडामा लगाएको भेटिएको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले बताए । ‘पार्कको एक सय ६६ रोपनी कुल क्षेत्रफलमध्ये पर्यटक घुम्न जाने ५० रोपनी जग्गा गैरकानुनी रूपमा भाडामा लगाउने सम्झौता भएको रहेछ,’ उनले भने, ‘बागमती प्रदेश सरकारमातहत व्यवस्थापन हुने निर्णय भएको पार्क एउटा एनजिओलाई एकलौटी निर्णय गरेर लिजमा दिनु गैरकानुनी हो ।’

सो कम्पनीको लिजमा लिएको जग्गामा बालबालिका खेल्ने फनपार्क सञ्चालन गर्ने योजना बनाएको छ । तर, सम्झौता भएको पाँच वर्षसम्म फनपार्क निर्माण कार्य भने अघि बढेको थिएन । गत पुसमा प्रतिष्ठानले फनपार्क निर्माण कार्य अघि बढाउन मन्त्रालयको सिफारिस/स्वीकृतिका लागि पत्र लेखेपछि यसबारे आफूले थाहा पाएको मन्त्री श्रेष्ठले बताए । त्यसलगत्तै मन्त्रालयले फनपार्क निर्माण रोक्न निर्देशन दिएको थियो ।

त्रिभुवन स्मारक प्रतिष्ठानका अध्यक्ष मदन ताम्राकार भने पार्कको जग्गा प्रतिष्ठानकै भएको र इच्छाअनुसार भोगचलन गर्न पाउने दाबी गरे । ‘यो जग्गा प्रतिष्ठानले नै किनेको हो, प्रतिष्ठानकै नाममा छ । भाडामा लगाउने अधिकार पनि प्रतिष्ठानलाई छ,’ उनले भने । उनका अनुसार लिजमा लगाउने निर्णय हुँदा प्रतिष्ठानकी अध्यक्ष शान्ता श्रेष्ठ थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।