निजगढ विमानस्थल बन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया रोक्न आदेश दिइसकेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री शर्माले सो धारणा सार्वजनिक गरेका हुन् ।
‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो मेरो प्रतिबद्धता भयो,’ उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिकरूपमा मात्र नभएर मधेस र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए । उनले निजगढ विमानस्थल र काठमाडौँ–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताए ।
‘मधेसलाई काठमाडौँसँग छोटो दुरीमा जोड्ने द्रुतमार्ग बनिरहेको छ । यसमा केबल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तर्राष्ट्रिय यात्रुलाई पनि आवतजावत गराउने हो,’ उनले भने । वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि उनले जानकारी दिए ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भुपाल बराललगायतको टोलीले शनिबार बिहान वीरगञ्ज चिनी उद्योगको निरीक्षण गरेको थियो ।
सो अवसरमा उद्योगमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालन योग्य रहेको जानकारी दिएका थिए ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया