NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मेसीको २६ खेलमा ६ गोल, १ खेलमा ५ गोल

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीले एकै खेलमा पाँच गोल गरेका छन् । युरोपियन च्याम्पियन इटालीविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेर फाइनल जितेलगत्तै मेसीले मैत्रीपूर्ण खेलमा इस्टोनियाविरुद्ध ५ गोल गरेका हुन् ।

गएराति भएको खेलमा अर्जेन्टिनाले ५–० गोलले विजयी हुँदा सबै गोल मेसीको नाममा रह्यो । फिफा वरीयतामा ११० औं स्थानमा रहेकाे टिमविरुद्ध मेसीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेका हुन् । अर्जेन्टिना फिफा वरीयतामा चौंथो स्थानमा छ ।

८ औं मिनेटमा पेनाल्टी गोल गरेका मेसीले ४५ औं मिनेटमा दोस्रो गोल गरे । ४७ औं मिनेटमा ह्याट्रिक गरेका मेसीले ७१ औं मिनेटमा चौथो र ७६ औं मिनेटमा पाँचौ गोल गरे ।

यो अर्जेन्टिनाको ३३ खेलसम्म अपराजित रेकर्ड हो । याे तीन वर्ष कुनै खेल नहारेकाे रेकर्ड हाे । स्पेन र ब्राजिलको लगातार नहारेको खेल संख्या ३५\३५ छ । ३७ खेल नहारेर रेकर्ड बनाएको इटाली पहिलो नम्बरमा छ । अब अर्जेन्टिनाको अर्को मैत्रीपूर्ण खेल ब्राजिलसँग आगामी जुन ११ मा अष्ट्रेलियामा हुनेछ ।

अन्तिमपटक २ जुलाई २०१९ मा कोपा अमेरिकामा अर्जेन्टिना ब्राजिलसँग पराजित भएयताका ३३ खेलसम्म अपराजित भएको हो । यस क्रममा कोपाको फाइनलमा ब्राजिललाई नै हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो ।

बार्सिलोनामा रहँदा निरन्तर गोल गर्ने मेसीको फ्रेन्च क्लब पिएसजी पुगेपछि भने गोल गर्ने क्रम रोकिएको छ । उनले २६ खेल खेल्दा ६ गोलमात्रै गरेका छन् । नयाँ क्लबमा उनलाई लय समाउन निक्कै कठिन परे पनि अर्जेन्टिनाका लागि पनि उनले निरन्तर गोल गर्ने र प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।