NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

जहाँ ज्येष्ठ नागरिक मात्र बस्छन्

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–२, स्योका ७० वर्षका छिरिङ फुर्बु हिनाङ गुम्बानजिकै टहरो बनाएर बसेका छन् । तागत छउन्जेल गाउँघरमा खेतबारीको काम गरेर बिताएका उनी तीनबीस कटेपछि माने घुम्न गाउँबाट पर गुम्बामा आएर बसेका हुन् ।

उनका चारभाइ छोरा छन् । ठूलो, साहिँलो र कान्छो लामा बन्न गुम्बा गए । माहिलो माज्ञ घरमा छन् । ‘माहिलाको विवाह गरेपछि वर्षदिनसम्म सँगै बसियो । अनि सबै धनसम्पत्ति उनीहरूलाई छाडेर माथि आएको,’ फुर्बु भन्छन्, ‘सँगै बस्यो भने कुनै बेला राम्रो हुन्छ । कुनै बेला झगडा हुन्छ । बूढो भइयो । घरमा बसेर काम पनि छैन ।’

आफू तन्नेरी छँदा बाबुआमालाई हिनाङ पठाएर उनी घरव्यवहार सम्हालेर बसेका थिए । आफ्नो पालो छोरालाई घरव्यवहार सुम्पिएका हुन् ।

७० वर्षका फुर्बु ग्याल्जेन र ६५ वर्षकी सोनाम ल्हामो दम्पती माने घुम्न त्यहाँ गएर बसेको १० वर्ष भयो । उनीहरूका चार छोरा र दुई छोरी छन् ।

बुढेसकालमा घरव्यवहारको तनावबाट मुक्त हुन घर छाडेर पर गएर बस्ने चलन रहेको ७० वर्षका छिरिङ नुर्बु बताउँछन् ।

हिनाङ चुमनुब्री गाउँपालिका–२ को ३३०० मिटर उचाइमा रहेको गाउँ हो । यहाँ करिब ३० जना ज्येष्ठ नागरिक बसोबास गर्छन् । वडा नं. १ सामागाउँका ज्येष्ठ नागरिकले घरपरिवार छाडेर कक्यू छ्योलिङ गुम्बा आसपास बस्ती बसालेका छन् । वडा नं. २ को ल्हो गाउँकाले होङ्साङ पु गुम्बा आसपास आश्रय बनाएर ल्ही, स्यो, भर्जमकाले, हिनाङ गुम्बाको आश्रममा बसेका वडा नं. २ का वडाध्यक्ष मिङ्ग्युर दोर्जे लामा बताउँछन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।